११ जेष्ठ २०७३, मंगलवार

म्याग्दी । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण म्याग्दीको ग्रामीण क्षेत्रको रैथाने प्रविधि लोप हुँदै गएको छ ।

Poverty-in-Nepal-in-Declineपरम्परागतरुपमा प्रयोग गरिँदै आएका घरेलु मेसिन हराउँदै गएपछि पर्यटकीय जिल्ला म्याग्दीको ग्रामीण पहिचान पनि मेटिदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनको रूपमा रहेको कोल अहिले आएर म्याग्दीका ग्रामीण क्षेत्रमा विस्थापित बनिसकेको छ ।

त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनु अघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अतिआवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानी घट्ट लोप हँुदै गइरहेका छन् ।

करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि म्याग्दीमा यी घरेलु मेसिन विस्थापनमा परेका घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याती कमाएको म्याग्दीका लोकबाजा खैंजडी, मादल, डम्फु, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको लोकगायिका धनकुमारी थापा बताउनुुहुन्छ ।

यस क्षेत्रका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हँुदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको यस क्षेत्रका सांस्कृतिक कलाकार बताउँछन् ।

घरेलु मेसिनलगायतका परम्परागत साधन पनि लोप हँुदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेका म्याग्दीका संस्कृतिविद् प्रकाश श्रेष्ठले बताउनुभयो ।

“म्याग्दीका घरेलु मेसिन हराइसके” श्रेष्ठले भन्नुभयो “हामी को हौँ ? हाम्रो सभ्यता के हो ? भन्ने कुराको बोध गराउने यी चिज नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ ।”

स्थानीय स्रोत, साधन एवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ ।

“घरेलु मेसिनको बनोट विशुद्ध हाम्रा पुर्खाको कला र सीप हो” स्थानीय संस्कृतिका विषयमा जानकार पुराना लोकगायक कृष्ण पौडेलले भन्नुभयो– “घरेलु मेसिनको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिक एवम् धार्मिक अवस्थाका विषयमा समेत जानकारी हासिल गर्न सकिन्छ ।”

“घरेलु मेसिन पूरै लोप भएपछि अबका पुस्ताका लागि यस क्षेत्रको सांस्कृतिक एवम् मानवीय सभ्यताका विषयमा अध्ययन गर्ने आधार रहने छैन” पौडेलले भत्रुभयो– “बढ्दै गइरहेको पाश्चात्य सांस्कतिक हस्तक्षेपका बीच हाम्रो मौलिक संस्कृति र सभ्यता हराउनेछ ।”

दैनिक प्रयोगका विभिन्न आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । “घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ” बेनी बजारका अविरकुमार श्रेष्ठ भन्नुहुन्छ– “घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महँगो एवम् खर्चिलो छ ।” लोप हँुदै गइरहेका यी मेसिनको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने कुरामा श्रेष्ठको जोड रहेको छ ।

प्रायः सामूहिकरूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको भनाइ छ ।

यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिइनु उपयुक्त नहोला र ? संरक्षणका लागि परम्परागत मेसिनको नमुना सङ्ग्रहालय स्थापनाका लागि पो सोच्ने की ? सरोकारवालाको ध्यान जान आवश्यक छ ।

लोपोन्मुख बाली संरक्षणका लागि बीउ बैंक

लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको छ ।
समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन (सिवियम) परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय म्याग्दीले धान, मकै, गहँु, कोदो, भटमास, बोडी, घिरौँला, सागलगायतका खाद्य बालीको बीउ बैंक स्थापना गरेको हो ।

स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट सङ्कलन गरी बैंक स्थापना गरिएको चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको बीउ बैंकका अध्यक्ष जीतबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपभोक्तामुखी बाली प्रजननद्वारा विकसित नयाँ धान तथा कोसेबालीको जात प्रवद्र्धनका लागि बीउ बैंक स्थापना गरिएको हो । जसमध्ये अधिकांश स्थानीयस्तरमा पाइने भए पनि लोपोउन्मुख अवस्थामा रहेका छन् ।

स्थानीयस्तरमा उपलब्ध हुनसक्ने तर लोपोन्मुख अवस्थामा रहेका धान तथा अन्य बालीको प्रवद्र्धनका लागि एउटा छुट्टै भवन स्थापना गर्न लागिएको संस्थाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय र समुदायको गरी रु छ लाख बराबरको लगानीमा बीउ बैंकका लागि यसै वर्ष भवन निर्माण थालिने बताइएको छ ।

LIVE TV