१० जेष्ठ २०७३, सोमबार

इलाम,। यहाँका चार गाविसलाई लक्षित गरेर निर्माण गर्ने भनिएको बृहत् खानेपानी आयोजना अन्योलमा परेको छ ।

water-gulmi-370x322जोगमाई खोलाबाट पानी ल्याएर कोल्बुङ, कन्याम, पञ्चकन्या र लक्ष्मीपुर गाविसका लागि निर्माण गर्ने भनिएको आयोजना पहिलेको दररेटभन्दा बढी पर्न गएकाले अन्योलमा परेको हो ।

चार वर्षअघिनै रु ३७ करोड लागत अनुमान गरिए पनि हाल आएर उक्त आयोजनाको लागत अनुमान रु ४२ करोड पर्न आउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामले जनाएको छ ।

“चारवर्ष पहिलेको तुलनामा धेरै सामानको मूल्य बढेको छ” डिभिजन प्रमुख पदम कुँवरले भन्नुभयो “अहिले हामी विस्तृत रूपमा पुनः मूल्याङ्कन गर्दैछौँ, त्यसको लागत रु ४२ करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।”

साविकको चार गाविसका लागि डिजाइन गरिएको खानेपानी आयोजनाका उपभोक्ता भने ८९३ घरधुरी मात्रै हो । प्रतिघरधुरी लागत बढी भएकाले र खानेपानी आयोजनाको लागत बढी भएकाले आयोजना थप अन्योलमा परेको हो । ७५ किलोमिटरको मुख्य पाइपलाइन र ३० किलोमिटर शाखा लाइन भएको खानेपानी आयोजना निकै महत्वकांक्षी मानिएको छ । खानेपानी आयोजनाका लागि रु १८ करोडको स्टिलको ‘सिमलेस’ पाइप लाग्ने डिजाइन स्टिमेटमा उल्लेख छ । पुनः मूल्याङ्कन गर्दा पाइपको मूल्य पनि निकै बढ्ने देखिएको छ ।
यतिधेरै लागत लाग्ने खानेपानी आयोजनाका लागि सरकारले चालु आवमा भने रु पाँच लाख मात्र विनियोजन गरेको छ । अहिले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा दुई वटा विशेष कार्यक्रमसहित ३६ आयोजना निर्माणाधीन छन् ।

दुई वटा विशेष कार्यक्रमका लागि रु दुई करोड विनियोजन भएको छ । बाँकी ३४ खानेपानी आयोजनाका लागि भने रु चार करोड मात्रै विनियोजन भएको डिभिजन प्रमुख कुँवरले बताउनुभयो ।

खानेपानीको चर्को अभाव रहेको कन्याम, कोल्बुङ, लक्ष्मीपुर, पञ्चकन्या ससाना आयोजना सञ्चालन गरेर खानेपानीको आपूर्ति गरिनुपर्ने कुँवरको भनाइ छ ।
सरकारले सुक्खा क्षेत्र घोषणा गरेर भए पनि बृहत् खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने स्थानीयको भनाइ छ । जिल्लाको पर्यटकीयस्थल भएर पनि वर्षौंभरि खानेपानीको समस्या झेल्दै आएको कन्याम, हर्कटेका सर्वसाधारण खडेरीले स्थानीय मुहान घटेपछि थप समस्यामा परेका छन् ।

LIVE TV