१० जेष्ठ २०७३, सोमबार
sher-deuba.jpgनेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने क्रममा आफूले ओली सरकारको मनोमानी हेरेर नबस्ने बताएका छन्। कांग्रेस रूपन्देहीले आइतबार भैरहवामा गरेको ‘नेपालको संविधान कार्यान्वयन र चुनौतीमा नेपाली कांग्रेसको भूमिका’ विषयक दुईदिने प्रशिक्षणमा देउवाले सत्ताघटक दलबाटै ओली सरकार ढाल्नुपर्ने आवाज आइरहेको बताएका हुन्।
‘सत्तारूढ दल नै ओली सरकार ढाल्नुपर्छ भन्दै आउँदा मैले मात्रै टिकाइरहनुपर्छ भन्ने छैन,’ उनले भने। ओलीले झुटा आश्वासन र उखानटुक्काको सहाराले जनतालाई भ्रममा पारेर कुर्सी जोगाउने मेसो मिलाइरहेको आरोप देउवाले लगाए। ‘ओलीलाई विद्युत, रेल, ग्यास पाइप, बाटो, सभाहल केही बनाउनु छैन, खालि जनता झुक्याउनु छ,’ उनले भने। लुम्बिनीमा शनिबार पाँच हजार व्यक्ति अट्ने सभाहल बनाउने प्रधानमन्त्रीको उद्घोषप्रति लक्षित गर्दै देउवाले पाँच सय जना अट्ने हल नै बनाएर देखाउन चुनौती दिए।
मधेसवादी दलका माग सम्बोधन गर्न बीचको बाटो अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै देउवाले त्यससँगै संविधान कार्यान्वयनको दिशामा पनि कांग्रेस सक्षम रहेको बताए। ‘संविधानले नै जनताका अधिकार कसैले खोस्न नसक्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘संविधान लचिलो भएकाले जनताको भावनाअनुसार संशोधन हुँदै जानेछ।’ पार्टीभित्र छलफल गरेर छिट्टै केन्द्रीय समितिलाई पूर्णता दिने पनि देउवाले बताए।

कार्यक्रममा केन्द्रीय सदस्य बालकृष्ण खाँणले कुनै पनि कम्युनिस्ट पार्टी राष्ट्रवादी हुनै नसक्ने बताए। जनताको मत बटुल्न राष्ट्रवादको ढोंग रचेको भन्दै उनले ओली सरकारलाई गैरउत्तरदायीको संज्ञा दिए। आफूहरू स्थानीय निर्वाचनको विपक्षमा नभएको प्रस्ट्याउँदै उनले त्यसमा कांग्रेसले एकछत्र जित हासिल गर्ने दाबी पनि गरे। त्यसै गरी अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले ओली सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्ने दायित्वबाट भागिरहेको आरोप लगाए। ‘ओली सरकारले सिन्को पनि भाँच्न सक्दैन,’ उनले भने, ‘यस्तो बेला ठूलो पार्टी र प्रतिपक्ष भएका नाताले कांग्रेेस सरकार परिवर्तनको पक्षमा उभिनु नौलो होइन।’

कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नेताहरू अब्दुल रज्जाक, भरतकुमार शाह, दुर्योधनसिंह चौधरी, हरि नेपाल, विष्णुप्रसाद लामिछाने, मातृका यादवलगायतले महँगी र कालोबजारीविरुद्ध नेपाली कांग्रेसले सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए।

LIVE TV