१० जेष्ठ २०७३, सोमबार

bajetआगामी आर्थिक वर्ष २०७३/७४ को बजेट मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा पूर्वका उद्योगीले जोड दिएका छन् । विगतका बजेट राजनीतिमुखी हुँदा मुलुकको आर्थिक विकास हुन नसकेको उनीहरूको भनाइ छ । संविधान जारी भएसँगै राजनीतिक क्रान्ति पूरा भएकाले अब बजेटको ध्यान आर्थिक विकासमा हुनुपर्ने उद्योग संगठन मोरङका प्रथम उपाध्यक्ष मुकेश उपाध्याय बताउँछन् ।

“विगतको बजेट नेता र कार्यकर्तामुखी भएकै कारण मुलुकले आर्थिक विकास गर्न सकेन,” उनको भनाइ थियो, “यसपटकको बजेट त्यस्तो नहोस्, नेता कार्यकर्ता पोस्ने बजेट आयो भने मुलुक फेरिन धेरै पछाडि पर्नेछ ।” संविधान जारी भएपछि पहिलोपटक बजेट आउन लागेको छ । सरकारले यही जेठ १५ गते बजेट ल्याउने तयारी गरेको छ ।

संविधान कार्यान्वयनका लागिसमेत बजेटको महत्वपूर्ण भूमिका रहने उनले बताए । उपाध्यायले भने, “प्रादेशिक संरचनाअनुसार बजेट ल्याउँदा संविधान कार्यान्वयनमा समेत टेवा पुग्छ ।” पूर्वको आर्थिक विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउन मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत सुझाव दिन्छन् ।

उनले विराटनगरमा विशेष आर्थिक क्षेत्र, क्षेत्रीय विमानस्थल, पूर्व–पश्चिम वैकल्पिक मार्ग, प्रदर्शनीस्थल, हुलाकी मार्ग, आईसीपी, विराटनगरको चक्रपथ निर्माणलगायतलाई प्राथमिकता दिन आग्रह गरे । “बजेटका लागि हामीले लिखित सुझाव दिइसकेका छौं,” उनी भन्छन्, “हाम्रा सुझाव कम्तिमा ५० प्रतिशत समेटियो भने पूर्वको आर्थिक विकास धेरै अगाडि बढ्छ ।”

अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा व्यापार संघ र उद्योग संगठनले संयुक्त कार्यक्रम गरेर सुझाव दिएका थिए । हरेक वर्ष लिखित सुझाव दिए पनि नसमेटिने गरेको गुनासो उद्योगीहरू छ । आजको कारोबार दैनिकमा खबर छ ।

 

 

LIVE TV