९ जेष्ठ २०७३, आईतवार

Sherdhan-Rai

सिन्धुपाल्चोक, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृति विकासका बाटोमा अगाडि बढाउन सम्पूर्ण राजनीतिक दलबीच एकता हुनुपर्ने बताउनुभएको छ ।

शान्ति नेपाली समाज बेलायतको आर्थिक सहयोगमा निर्माण गरिएको ठूलो थकनी माध्यमिक विद्यालय हस्तान्तरण गर्दै मन्त्री राईले संविधान जारी भइसकेको अवस्थामा दलहरूबीच एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्नुको सट्टा राजनीतिक स्थिरता कायम गरी सबै मिलेर मुलुक निर्माणमा जुट्नुको विकल्प छैन भन्नुभयो ।

“मुलुक निर्माणअन्तर्गत सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यलाई प्राथमिकता दिएर तीव्रताका साथ अगाडि बढाएको छ, त्यसका लागि एक हजार ३०० ईन्जिनियर र स्वयम्सेवक खटाइएको छ”–उहाँले भन्नुभयो ।

मन्त्री राईले भूकम्पपीडित परिवारलाई सरकारले रु दुई लाख अनुदान दिएको र मागअनुसार सहुलियत ऋणका रूपमा दिने भनिएको रु तीन लाखलाई पनि अनुदानकै रूपमा नै दिनेबारे निर्णय गराउन आफूले पहल गर्ने बताउनुभयो ।

पाँच वर्षभित्र भूकम्पबाट क्षति भएका सबै संरचना बनाइसक्ने लक्ष्यअनुसार तीन वर्ष भित्रमा विद्यालय, क्याम्पस, विश्वविद्यालय, विभिन्न स्वास्थ्य चौकी बनाइसक्ने सरकारको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । “पुनःनिर्माण मात्र होइन, बाटो, यातायात, खानेपानी, सञ्चारलगायत अन्य विकासका कामलाई समेत सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ”–मन्त्री राईले भन्नुभयो ।

आफ्नो मन्त्रालयले प्रत्येक विद्यालय, क्याम्पस र विश्वविद्यालयमा इन्टरनेटको पहँुच पु¥याउने उद्देश्यअनुसार ती विद्यालयमा सोलार बत्तीसहितको व्यवस्था गर्ने कार्य अगाडि बढिसकेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले जानकारी दिनुभयो ।

मधेसवादी दलप्रति लक्षित गर्दै मन्त्री राईले संविधानले सबै प्रकारका विभेद अन्त्य गर्दै संविधानले सम्पूर्ण समुदायको हक अधिकार सुनिश्चित गरेको अवस्थामा आन्दोलन गर्नुको अर्थ नहुने भन्दै वार्तामा आउने आग्रह गर्नुभयो ।

आव २०७३÷७४ को नीति तथा कार्यक्रम जनमुखी र प्रगतिशील, कृषिमैत्री, युवा लक्षित र उत्पादनमुखी भएको उहाँको दाबी छ । ‘एक घर एक रोजगार’, शैक्षिक प्रमाणपत्र धितो राखेर व्यापार÷व्यवसायका लागि ऋणलगातय महत्वपूर्ण विषयलाई समेटेर यही जेठ १५ गते सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ ।

बेलायतमा रहेका नेपालीको सहयोगमा जुटाइएको रु ४० लाख १५ हजार ७७७ को लागतमा दुई तलाको पाँचकोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरी हस्तान्तण गरिएको हो ।

विद्यालयको पुस्तकालय अन्य वृद्धि विकासका लागि समाजले आगामी दिनमा सहयोग योजना बनाएको शान्ति समाज बेलायतका महासचिव कृष्ण ढकालले जानकारी दिनुभयो । सोही अवसरमा एसिया फाउण्डेसन र माई नेपाल नामक संस्थाले पुस्कालयका लागि समसामयिक पुस्तकसमेत हस्तान्तण गरेको थियो ।

सोही अवसरमा सांसद शेरबहादुर राईले राजधानी काठमाडौँबाट नजिकै रहेको सिन्धुलाल्चोकको थकनी गाविसको विकासका लागि राज्यले अहिलेसम्म कुनै ठोस पहल गर्न नसकेको भन्दै गुनासो गर्नुभयो ।

सो अवसरमा कलाकार खुमन अधिकारी, राजु ढकाल, देवी घर्तीलगायतले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी सञ्चारमन्त्री राईले हैुबुङ गाविसस्थित नेकपा (एमाले) हैबुङ कमिटी सिन्धुपाल्चोकको नवौँ गाउँ अधिवेशनको उद्घाटन गर्दे आफ्नो पार्टी श्रमजीवीको पार्टी भएको बताउनुभयो । रासस

 

LIVE TV