९ जेष्ठ २०७३, आईतवार

ww

दिल्लीका लागि दूत फिर्ता बोलाइए । नेपालको राजनीतिमा यो प्रकरण पेचिलो प्रश्न बनेर उभिएको छ र उभिने छ नै । सरकार फेरबदलको खेलमा लागेको र परराष्ट्रलाई जानकारी नदिई भारतीय राजदूतसंग घुमेको आरोप लगाउदै फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्याय अहिले काठमाडौंमा प्रष्टिकरण दिएर हिडिरहेका छन् । तर यही घटनाले अन्य घटनालाई निम्तो दिने अवस्था भने नेपाली राजनीतिमा उत्पन्न भएको छ ।

नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि आबद्ध उपाध्यायको दोष काँग्रेस हुनु मात्र रहेको निष्कर्षमा पुग्नेहरु धेरै छन् । सरकार परिवर्तनका लागि पार्टी सभापति शेरबहादुर देउवाको कच्चा खेलको शिकार उपाध्यायलाई बनाइएको ठान्नेहरुको मत पनि बाक्लो छ । भारतसंगको सम्बन्ध जहिले पनि संवेदनशील बन्दा सरकारले आप्नो नजिककालाई दिल्लीको जिम्मा दिने पुरानो प्रचलन नै हो ।

बिभिन्न देशका लागि नयाँ सिफारिस भएका राजदूतहरु समेत आफ्नो नजिकको राखिएको अवस्थामा दिल्लीको जिम्मा प्रतिपक्षीको पोल्टामा दिन कुनै पनि दल तयार हुन्नन । यस्को अर्थ खुलस्त छ नै । १३ महिना अघि काँग्रेस सरकारको पालामा नियुक्त उपाध्यायलाई फिर्ता बोलाएसंगै एमालेको दूरी काँग्रेस बढेको प्रष्ट देखिएको छ ।

खास गरि नाकावन्दी पछि बिग्रिएको नेपाल भारत सम्बन्ध सुर्धानुपर्ने बेला दुतावास खाली राख्नु कुटनीतिक अदुरदर्शिता पनि हो नै । त्यसमा पनि राजदुत जस्तो व्यक्तिलाई अन्य देशसंग मिलेर राष्ट्र विरुद्ध काम गरेको आरोप लगाउनुमा राजनीतिक प्रतिशोध र सत्ता स्वार्थ हो भन्ने पनि छर्लङ्ग बनेको छ । राजदुत फिर्ता बोलाउनु स्वभाविक प्रकृया भएपनि उपाध्यायलाई लगाइएको आरोप अस्वभाविक भएको परराष्ट्र मामिलाका जानकार डा. उद्धव प्याकुरेल बताउछन् ।

फिर्ता बोलाइएका उपाध्यायले नाकाबन्दी समेतका अनेक झन्झट र चुनौतीको सामना गर्दै नेपाल भारत सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन कोशिस पैरवी नै गरेकोलाई कम भने आँक्नु हुन्न । जुन परिस्थितिमा उनलाई फिर्ता बोलाइयो यस  कार्यले भोलिका दिनका कूटनीतिक अभ्यास थप विवादग्रस्त हुने समेत देखिन्छ ।

लगभग अधिकांश देशमा अहिले राजदूत रिक्त छन् र सिफारिस भएका कोही पनि काँग्रेस निकट छैनन् । दिल्लीको यही नजिरलाई काँग्रेसले इख साँध्ने काम गरे सपार्नु पर्ने नेपालको राजदूत नियुक्ति र स्थायित्वको प्रक्रियामा झनै नराम्रो नजिर बन्न खतरा देखिएको छ ।

 

 

LIVE TV