
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व परिवेशमा शिष्ट र सभ्य समाज निर्माणका लागि बौद्ध दर्शन र साहित्यको महत्व रहेको बताउनुभएको छ ।
स्वयम्भूस्थित आनन्दकुटी विहारले २५६०औँ बुद्धजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मानिसलाई नैतिकवान बनाउनका साथै सहिष्णुता र सद्भावसहितको बौद्ध शिक्षा र उपदेशलाई अवलम्बन गरेमा विश्वका सम्पन्न मुलुकमा भइरहेको आणविक हतियार तथा शस्त्रअस्त्रको प्रतिस्पर्धालाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
उहाँले बौद्ध साहित्यको अध्ययन केन्द्रका रुपमा लुम्बिनीलाई विकास गर्नुपर्नेमा जोड दिँदै सरकारले त्यहाँ एक वर्षभित्र पाँच हजार मानिस अटाउने सभाहल स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहिदल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडिण्यले बुद्धको बाँच र बाँच्न देउ भन्ने शिक्षाले सबै प्राणीको जीवन रक्षाको अधिकारलाई संरक्षण गर्न खोजेको बताउँदै मानव कल्याणका लागि बौद्ध शिक्षा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एम सेनेवरत्नेले भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त विहारको पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विहारका प्रमुख भिक्षु धम्ममूर्तिले बुद्ध जन्मेको देश नेपालबाट बौद्ध दर्शनको प्रारम्भ भएको र यसको महत्वलाई ग्रामीण भेगमा प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो । रासस