८ जेष्ठ २०७३, शनिबार

मुुगुमा रहेका ३२ वटा सरकारी कार्यालय मध्ये आधा दर्जन बढि कार्यालयका प्रमुखहरु जिल्लामा नहुँदा सेवाग्राही मर्कामा परेका छन । जेठको १५ गते देखि कुनै पनि योजनाको सम्झौता गर्न नपाईने कानुनी व्यवस्था रहेको र जनसहभागितामा आधारित धेरै योजना सम्झौता गर्न  बाँकी नै भएको अवस्थामा कार्यालयहरु प्रमुखविहीन वन्दा मगुवासी जनता मारमा परेका छन् ।

कार्यालय प्रमुखहरु नहुँदा आर्थिक वर्षको अन्त्य तिर भौतिक विकासका योजनाहरुको भुक्तानी दिनु पर्ने , जेठकामको सम्झौता गर्नु पर्ने , निर्माण गरिएका पुर्वाधार विकासका योजनाको अनुगमन गर्नु पर्ने भए पनि कार्यालय प्रमुख नहुँदा सबै काम प्रभावित बनेका छन । सबै भन्दा बढि सेवाग्राहीको घुईचो लाग्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबबालिका कार्यालय ,खानेपानी,  सिचाई  लगायतका सरकारी कार्यालयका प्रमुखहरु जिल्लामा छैनन ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालय,जिल्ला कारागार, नापी कार्यालय,  कृषि विकास बैक ,विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रमा समेत कार्यालय प्रमुख छैनन । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी प्रल्हादप्रसाद पुडासैनीले बैशाख १० गते देखि जिल्ला छोडेपछि आर्थिक कारोवार सबै ठप्प बनेको र सेवाग्राहीले आउने जाने काम बाहेक अरु कुनै काम हुन नसकेको जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी खडकराज मल्ल बताउनु हुन्छ । मल्लका अनुसार योजना सम्झौता लगायत सम्पूर्ण आर्थिक कारोवार लगायत जिल्लाको लागि हुने बिकास निमाण कार्य समेतमा बाधा आएको छ । कार्यालय प्रमुख जिल्लामा नबसे पछि विकास योजनाको सम्झौता हुन नसक्दा यो वर्ष पनि करोडौ रकम फिर्ता हुने अवस्था उत्पन्न भएको छ ।

सदरमुकाम आएको एक हप्ता भए पनि जिल्ला विकास समितिमता स्थानीय विकास अधिकारी नहुँदा जन सहभागितामा आधारित योजनाको सम्झौता हुन नसकेको धैनकोट गाविसका स्थानीयवासी देवीलाल मल्ल लगाएत स्थानिय बासीको गुनासो छ । गाउँमा खडेरीले जनता भोकभोकै अवस्थामा रहेकाले योजनाबाट आएको रकमले खाद्यान्न किन्ने योजना बनाएर धेरै गाउँले सदरमुकाममा भेला भएका छन् । तर कुनै पनि योजना अघि बढ्ने संकेत नदेखिएपछि मुगुवासी झनै तनावमा परेका छन् ।

 

LIVE TV