८ जेष्ठ २०७३, शनिबार

lam

दमौली, लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानीस्थित तारेभिरबाट गत बिहीबार साँझ बस दुर्घटनामा परी ११ जनाको मृत्यु भएपछि जिताकोट गाउँ पूरै सन्नाटा छाएको छ ।

एउटै गाउँका ११ जना व्यक्तिको ज्यान जाने गरी भएको उक्त दुर्घटनाले पूरै गाउँमा सन्नाटा छाएको हो । तनहुँको दमौलीबाट २४ यात्रु बोकेर दुईपिप्ले, सोतीपसल हुँदै जिताकोट तान्द्राङतर्फ जाँदै गरेको ना६ख ४१३६ नंको बस कच्ची सडकबाट २०० मिटर तल खसी दुर्घटना हुँदा ती व्यक्तिको मृत्यु भएको हो ।

घटनास्थलमै नौजना र दुईजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । मृतक सबैको सनाखतपछि आफन्तले परीक्षण गरी शव बुझिसकेका छन् । शव बुझी दाहसंस्कारका लागि लैजाने क्रममा शुक्रबार परिवारजन र आफन्तमा रुवाबासी चलेको थियो ।

मृतकका परिवारलाई सान्त्वना दिन दमौली अस्पताल पुग्ने सबैका आँखाबाट आँसु रसाएको थियो । ले. देवबहादुर गुरुङले पनि सो घटना निकै दर्दनाक रहेको बताए ।

सो घटनाले लमजुङको जिताकोट तान्द्राङ टक्सारका साथै मध्यनेपाल नगरपालिका क्षेत्र नै शोकमा डुबेको बताइएको छ । पूरै गाउँ नै क्षति हुने गरी भएको सो घटनाले सबैमा सन्नाटा छाएको गाउँलेको भनाइ छ ।

सोही दुर्घटनामा परी घाइते भएका सातजनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बस चालक तनहुँको क्यामिन घर भएका सुरेश विकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

यसैबीच तनहुँको व्यास नगरपालिका–५ कुमालटारीस्थित नरबहादुर थापाको गोठमा शुक्रबार राति एक्कासि आगलागी हुँदा आठवटा बाख्रा मरेका छन् ।

आगलागीबाट जलेर गोठ खरानी हुँदा आठवटा चौपाया मरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गोठमा आगो लाग्नुको कारण भने खुल्न सकेको छैन । रातमा आगलागी भएकाले समयमा आगो निभाउन नसक्दा उक्त क्षति भएको पीडित परिवारले जनाएको छ । रासस

 

LIVE TV