८ जेष्ठ २०७३, शनिबार

uv1

किरातहरुको महान् चाड उभौली पर्व इलाम सहित देशैभर धुमधामका साथ मनाइएको छ । यो पर्व राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले आ–आफ्नै तरिकाले मनाउन थालेका छन् । यी समुदायले शनिवार बिहानैदेखि प्रकृति, देविदेवता र भुमीको पूजा अर्चना सुरु गरेका छन् । यो पर्वमा वालीनाली सप्रियोस, अन्नवालीमा किरा, फट्याङग्रा नलागोस, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गरिन्छ ।

किरात लिम्बू समुदायले किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामको आयोजनामा इलाम नगरपालिका ९ बालनगाउँमा पूजा अर्चना गरेको छ । दिउँसो च्याब्रुङ्ग प्रतियोगिता साथै नाँचगान तथा शुभकामना आदानप्रदान र विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको चुम्लुङले जनाएको छ । किरात समुदायले यो पर्वमा प्रकृतिको पूजासँगै मौलिक संस्कृति झल्काउने पोशाकमा सजिने, मीठो खाने, इष्टमित्र छिमेकीलाई बोलाएर मीठो परिकार खुवाउने गर्ने गर्दछन् । उभौली पर्वको अवशरमा राजधानी सहित किरात समुदायको बसोबास रहेको क्षेत्रमा विशेष कार्यक्रम भएका छन् । किरात समुदायले उधौली र उभौली गरि दुई पर्व मनाउँछन् ।

uv

बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाइन्छ । उभौलीको अवसरमा किरात समुदायले मौलिक नाचँगान र झाँकी प्रदर्शन पनि गर्ने गर्दछन् । यसैगरी लिम्बू समुदायको बहुल्यता रहेको स्थानहरु इलामको धुसेनी, बरबोटे, फुएतप्पा, नामसालिङ, इभाङ, बाँझो लगायतका ठाँउमा यक्वा तङनाम मनाइएको थियो । यता किरात राई समुदायले पनि साकेला नाँच, मौलिक पोशाकहरुको प्रदर्शनी र पुजाआजा गरि विभिन्न कार्यक्रमहरुका साथ इलाम नगरपालिका २ ओपीधारामा साँस्कृतिक कार्यक्रम आयोजना गरे । किरात सुनुवार समुदायले पुवामझुवा ८ स्थित स्यादरथानमा पुजा गरेर वुरसिल नाँच लगायत कार्यक्रमहरु गरि मनाएको खवर प्राप्त भएको छ ।

याक्खा समुदायले नामसालिङ ८ मा देवीदेवताको पुजाआजा सहित इष्टमित्र भेट भएर रमाइलो गरि यो पर्व मनाएका छन् । भुजेल समुदायले पनि इलामको जमुना गाविसमा विभिन्न मौलिक संस्कृति झल्काउने कार्यक्रमहरुको साथमा उभौली पर्व मनाएका थिए ।

 

 

LIVE TV