७ जेष्ठ २०७३, शुक्रबार

gosti

काठमाडौँ, यस वर्षको दुई हजार ५६०औँ बुद्ध जयन्तीका अवसरमा बिहीबारदेखि आयोजित अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आज सम्पन्न भएको छ ।

‘लुम्बिनी, नेपाल : भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ सुरु भएको गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र ६ नेपाली गरी २४ विद्वान्ले कार्यपत्र प्रस्तुत गर्नुुभएको थियो ।

गोष्ठीमा विभिन्न २८ देशका प्रतिनिधि, विशिष्ट धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका विद्वान्को सहभागिता थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अग्रसरतामा आयोजित अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा सम्पन्न भएलगत्तै सहभागीहरु लुम्बिनी प्रस्थान गर्नुभएको छ । शनिबार हुने बुद्ध जयन्ती समारोह राष्ट्रपतिको उपस्थितिमा लुम्बिनीमा विशेष कार्यक्रमका साथ गरिने छ ।

गोष्ठीमा विद्वान्ले प्रस्तुत गरेको कार्यपत्रबाट निस्किएको निष्कर्ष तथा सुझावलाई लुम्बिनीमा हुने कार्यक्रममा समावेश गरी घोषणापत्र जारी गरिने छ । गोष्ठीले नेपाललाई विश्व शान्तिको केन्द्रका रुपमा विकास गर्न तथा नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक उन्नयनका क्षेत्रमा विकास गर्न सहयोग पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि बच्चुराम श्रेष्ठले जानकारी दिनुभयो । रासस

 

LIVE TV