
नेपालगन्ज, नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री जननायक स्व विश्वेरप्रसाद कोइराला, स्व गिरिजाप्रसाद कोइराला र स्व सुशील कोइराला चढेको बा१च ६०५७ नंको निजी मोटर (जिप) बिपी सङ्ग्रहालय, काठमाडौँमा राखिने भएको छ ।
बिग्रेको अवस्थामा नेपालगन्जमा रहेको सो मोटर नेपाली काँग्रेस, बाँकेका अध्यक्ष किरण कोइरालाले सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेललाई आज यहाँ आयोजित समारोहमा हस्तान्तरण गर्नुभयो ।
सो जिप र नेपाली काँग्रेसले क्रान्तिका समयमा २०३० जेठ ३० गते अपहरण गरेको दुर्घटनाग्रस्त हवाइ जहाजको भग्नावशेष पनि आज यहाँबाट ट्रकमा राखेर सङ्ग्रहालयका टोलीद्वारा काठमाडौँ लगिएको छ ।
जहाज सङ्ग्रहालयबाट यहाँ आएको टोलीले नेपाल वायुसेवा निगम क्षेत्रीय कार्यालयका निर्देशक किरणमान श्रेष्ठबाट बुझेको थियो ।
चालीस वर्ष नेपाली आकाशमा उडेर २०७० फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा सो जहाज दुर्घटनाग्रस्त भएपछि त्यसको भग्नावशेष यहाँस्थित नेपाल वायुसेवा निगमको प्राविधिक क्षेत्रको गोदाममा राखिएको थियो ।
त्यसअवसरमा आयोजित समारोहमा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जहाज अपहरण गर्नु गलत भए पनि क्रान्तिको आवश्यकता थियो भन्नुभयो ।
उहाँले नेपाली काँग्रेसका पूर्वसभापतिले देखाएको बाटोमा अहिलेका नेता, कार्यकर्ता हिँड्नुपर्नेमा जोड दिँदै इतिहासलाई बिर्सने कालान्तरमा समाप्त भएर जाने धारणा राख्नु भयो ।
“संविधानले लोकतान्त्रिक व्यवस्थाको बाटो समाएकाले यो उत्कृष्ट छ, केही कुरा संविधानमा छुटेका छन् भने आपसी समझदारीबाट सच्याउन सकिन्छ”– भन्नुभयो ।
बाँके काँग्रेसका जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जहाज अपहरणकर्ता वसन्त भट्टराईले जहाज अपहरण निरङकुश पञ्चायती व्यवस्था अन्त्यको एक महत्वपूर्ण कडी भएको धारणा राख्नुभयो । रासस