७ जेष्ठ २०७३, शुक्रबार

नवलपरासी, । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी हँुदै नवलपरासी आउनुहुने भएको छ ।

राष्ट्रपति भण्डारी पहिले लुम्बिनी, त्यसपश्चात् तिलौराकोट र दिउँसो नवलपरासीको रामग्राम स्तुप आउने मौखिक जानकारी आएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

सो अनुसारको सुरक्षा व्यवस्थापन मिलाइएको बताउँदै प्रजिअ पन्थले भन्नुभयो, “हामीलाई लिखित पत्र आएको छैन तर पनि मौखिक रुपमा राष्ट्रपति भण्डारी भगवान् गौतमबुद्धको अस्थिधातु रहेको स्थल नवलपरासीको रामग्राम स्तुपमा दिउँसो आउने कार्यक्रम तय भएको छ ।” २५६०औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारी बुद्ध जन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल तिलौराकोट तथा रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्न आज यसतर्फ आउन लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले विशेषगरी शनिबार लुम्बिनीमा आयोजना हुने २५६०औँ बुद्धजयन्ती मूल समारोह उद्घाटन गर्ने कार्यक्रम यस अगावै तय भइसकेको छ । सो भव्य समारोहमा जेठ ६ र ७ गते काठमाडाँैमा जारी बौद्ध अन्तर्राष्ट्रिय गोष्ठीमा निकालिएको निष्कर्षलाई घोषणापत्रका रुपमा जारी गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले जानकारी दिनुभयो । रासस

LIVE TV