५ जेष्ठ २०७३, बुधबार

चीनबाट नेपालका लागि छुटेको रेल सिगात्से आइपुगेको छ । रेलमा पठाइएको सामान लिन नेपाली ट्रक त्यहाँ पुगेका छन् । गएको बुधबार सामान बोकेर नेपालका लागि छुटेको लानझाउ–काठमाडौं लेखिएको ७०११ नम्बरको रेलमा पठाइएको सामान लिन नेपाली ट्रक तिब्बतको सिगात्से पुगेको चिनियाँ समाचार संस्था पिपुल्स डेलीले जनाएको छ ।

डेलीले चिनियाँ लरीबाट नेपाली ट्रकमा सामान लोडिङ गरिएको तस्बिर पनि सार्वजनिक गरेको छ । सिगात्सेसम्म मात्र रेलमार्ग भएकाले अब त्यहाँदेखि सडकमार्ग हुँदै ति सामान बोकेका ट्रक केरुङ हुँदै काठमाडौं आउनेछन् । लान्झाउदेखि सिगात्सेसम्मको २ हजार ४ सय ३१ किलोमिटर पार गरेर रेल सिगात्से आइपुगेको हो । त्यहाँबाट केरुङ नाकासम्म ट्रक आइपुग्न ५ सय ६४ किलोमिटर दूरी पार गर्नुपर्छ । त्यहाँबाट काठमाडौं आइपुग्न १ सय ६० किलोमिटर पार गर्नुपर्ने हुन्छ । रेलवे कन्टेनर कर्पोरेसनका उपप्रबन्धकका अनुसार ४३ वटा घरायसी सामान र ८६ कार्गो कन्टेनर केरुङ नाका आइपुगेका हुन् ।

चिनियाँ सञ्चार माध्यमका अनुसार यो रुटबाट सामान काठमाडौं पुग्न समुद्री रुटभन्दा ३५ दिन कम लाग्छ । यसअघि नियमित रुपमा चल्ने रेलका डिब्बा बुक गरेर सामान ल्याउनुपर्ने हुन्थ्यो । जसका कारण सामान कहिले आइपुग्छ भन्ने यकिन हुँदैनथ्यो । तर अब नेपालतर्फ आउने सामान बोक्ने डिब्बा निश्चित भएको छ । यसले सामान छिटो, भरपर्दो र सुरक्षित तरिकाले आयात गर्न सकिनेछ । जहाजबाट भन्दा रेलमार्ग छिटो र ढुवानी लागत पनि कम लाग्ने भएकाले यसले दुई देशबीच व्यापार गर्न सहज हुने बताइएको छ ।

LIVE TV