५ जेष्ठ २०७३, बुधबार

चितवन, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले अनुसन्धानलाई फितलो नहुने गरी उजुरी हाल्न र आयोगलाई सघाउन पीडितहरुसँग आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार अहिलेसम्म नेपालभर आयोगमा एक हजार २२२ वटा उजुरी परिसकेका छन् । आयोगले गर्न लागेको काममा सबैले सहयोग गरेमा पीडितले राहत र पीडकलाई सजायको भागी बनाउन सकिने उहाँले बताउनुभयो ।

आयोगले आज यहाँ सरोकारवालासँग गरेको अन्तक्र्रियामा मल्लिकले द्वन्द्वकालमा देशभरि एक हजार ५३० जना बेपत्ता भएका तथ्याङ्क रहेको बताउनुभयो । अहिले आयोगमा ८२ प्रतिशत उजुरी परिसकेको उहाँको भनाइ छ ।

अन्य आयोगभन्दा अहिलेको आयोगलाई कानुनी प्रक्रियाले बाँधेको हुँदा आयोगको प्रतिवेदन व्यवस्थापिका–संसद्मा बुझाउने र जनतामाझ सार्वजनिक गरिने भएकाले उजुरी गर्न डराउन नपर्नेसमेत उहाँले बताउनुभयो ।

सोही अवसरमा बोल्दै आयोगका सचिव महेश शर्मा पौडेलले आयोगमा परेका उजुरीमध्ये अहिलेसम्म २०० वटामाथि प्रारम्भिक जाँच सुरु भइसकेको बताउनुभयो ।

पीडितहरुले बेपत्ता पारिएका परिवारलाई वर्गीकरणका आधारमा परिचयपत्रको व्यवस्था गर्न माग गरेका थिए । परिचयपत्रका आधारमा राज्यले सेवा, सुविधा र परिपूरणको व्यवस्था गर्न सहज हुने उनीहरुको भनाइ थियो ।

राजनीतिक रुपमा आयोग बनेको हुँदा बेपत्ता पारिएकाको घटनालाई राजनीतिक रुपमा नै समाधान गरिनुपर्ने बेपत्ता परिवार चितवनकी अध्यक्ष निशा न्यौपानेले बताउनुभयो । दोषीलाई कारबाहीभन्दा सत्यतथ्य कुरा बाहिर ल्याइनुपर्ने पीडितको माग थियो ।

चितवनमा अहिले करिब ४० घरपरिवारका सदस्य बेपत्ता रहेका छन् । यसमध्ये सरकारी विवरणमा २९ जनाको नाम सूचीकृत छ । सूचीकृतमध्ये एक जना विद्रोही पक्षबाट र बाँकी राज्य पक्षबाट बेपत्ता पारिएको स्थानीय शान्ति समिति चितवनले जनाएको छ । रासस

 

LIVE TV