२ जेष्ठ २०७३, आईतवार

thi

रोल्पाका थबाङबासी आफु जहिले पनि ठगिएको महुशस गर्छन् । र बाहिरबाट देख्नेले थवाङबासीलाई राज्यको विपक्षमा मात्र उभिएको देख्छ । परिवर्तन र पहुँचका लागि आवाज उठाउँदा आफुलाई राज्यविरोधी संज्ञा दिएको उनीहरुको गुनासो छ । राज्यबाट पाउनुपर्ने सेवा सुविधाकालागि संघर्षमा उत्रिदा धेरैले प्रयोग गरेर निहित स्वार्थ लुटेको उनीहरुको दावी छ । अहिले ढिलै भएपनि सडक सञ्जालमा जोडिन पाउँदा थवाङबासीले विगतका द्धन्द्धको घाउँ केही पुरिएको महशुस गरे ।

राज्यको आड, भरोसामा विकासको आशा गरेको रोल्पाको थबाङले उपेक्षित र अपहेलित भएको गुनासो गरिरहेको धेरै नै भयो । र भोग्यो पनि त्यस्तै । उतिबेला कम्युनिष्टको किल्ला भनेर चिनिने थवाङ पञ्चायतकालदेखि नै शासकको अप्रीय बन्यो । शासकले यहाँका जनतालाइ दमनमार्फत नियन्त्रणमा लिने चेष्टा गरे ।  विद्रोही स्वभावका कारण थबाङ र राज्यको दुरी झन्झन् बढ्दै गयो । अन्ततः दुवैले एक अर्काको विरोधी र विपक्षी रुपमा आफुलाई उभ्याए । अनि राज्यका हरेक मुद्धा ,नीति र योजनामा थबाङ त्यसै प्रतिपक्ष जस्तो देखियो । १० वर्षे माओवादी द्धन्द्धमा सत्ता र थवाङबीचको दूरी झन बढ्यो ।

अहिले अबस्था धेरै फेरिएको छ । राज्यले सौतेलो व्यबहार गरेको आरोप र आक्रोश तेर्साउने उनीहरुले केही राहत महशुस गरेका छन् । २०४५ सालदेखिको उनीहरुको मोटरबाटोको सपना पुरा भएको छ । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य थबाङ पुग्दा उनीहरुले बिन्ती चढाएको मोटरबाटो ल्याइदिने मागले अहिले सार्थक रुप लिएको छ । यस वर्षदेखि कम्युनिष्ट किल्लामा गाडी पसेको छ ।

अरुबेला आफ्नो किल्लामा अन्यको प्रवेशलाई निको नमान्ने उनीहरु यसपटक भने स्वागत गर्न हतारिएको देखियो । विकास निर्माणलाई स्वागत गर्न उनीहरुमा देखिएको उत्साहले थवाङवासी विकास चाहान्छन् भन्ने सन्देश पनि मिलेको छ ।

यतिबेला दाङ भएर शहिदमार्गको बाटो थबाङसम्म पुगेको छ भने रुकुमबाट पनि थबाङसम्म गाडी गुड्ने गर्छ । रोल्पाको दक्षिणी भेगलाई छोएर शहिदमार्गको ट्रयाक ओपन भएपछि यही बाटोमा गुड्ने जीप र ट्याक्टर थबाङसम्म पुग्छ ।

पूर्वपश्चिम राजमार्गबाट अव एक दिनमै थबाङ पुग्न सकिन्छ । गाउँबाट अब विद्रोहको स्वरमात्र होइन श्रम र सीपले उत्पादित सामग्री पनि बाहिर जान सक्ने उनीहरुको विश्वास छ । बाटोको ट्रयाक मात्र खोलिएकोले बाटोमा भोग्ने सकस कम चुनौतिपूर्ण छैन ।

सदरमुकाम लिवाङबाट २७ कोष उत्तरतर्फ यो गाउँ रुकुम जिल्लाको सिमानामा पर्ने भएकोले रोल्पाबाट भन्दा पनि रुकुमबाट पहिला मोटर पुगेको थियो । द्धन्द्धकालमा नै खन्न शुरु भएको सहिदमार्ग कछुवा गतिमा अगाडी बढेपछि निराश भएका थबाङबासीको मोटर चढ्ने सपना रुकुमबाट आएको सडकले पुरा गरिदिएको थियो । अझैपनि सहिदमार्गको निर्माणको गति सुस्त नै छ । यता पूर्वतिरको सुलिचौर थबाङ सडक खण्ड भने सिरक्याङ भिरमा नै अड्किएको छ ।

हिजोको सैनिक अपे्रशन र आजको सडक सञ्जाल यी दुई भिन्न अवस्थालाई स्वभाविक रुपमा ग्रहण गरेका थवाङबासीप्रति राज्य र राजनीतिक दल सचेत हुन आवश्यक देखिएको छ । उनीहरुको स्वभावमा परिवर्तन ल्याउने हो भने राज्यले थवाङको विकासलाई प्राथमिकतामा राख्नु पर्दछ ।

 

 

LIVE TV