१ जेष्ठ २०७३, शनिबार

fish

सुनसरीको इटहरी स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले टिलापिया र पंगास जातका माछाका भुरा उत्पादन गरि वितरण गर्न थालेपछि कृषकहरु लाभान्वित हुन थालेका छन् । कृषकले छोटो समयमा बढि आम्दानी लिन सक्ने यस्ता जातका माछा खान समेत बढि स्वादिलो भएको हुँदा कृषकलाई यस्ता जातका माछा आफ्नो पोखरीमा लगाउन कृषि विज्ञहरुले सुझाव दिएका छन् ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराकी माछा वैज्ञानिक उमिता शाहले पंगास माछाले दश गुण बढि उत्पादन लिन सकिने बताउँनुभयो । प्राय कृषकले परम्परागत जातका माछा पोखरीमा लगाउने गरेका छन् । आफैले घरायसि प्रयोजनका लागि पालिएका माछा होस् या व्यवसायिक रुपमा पालिएका माछा हुन् प्राय कृषकका पोखरीमा नयाँ प्रजातिका माछा नभएकै कारण निराश हुने गरेको शाहले बताउँनुभयो । तर टिलापिया र पंगास जातका माछा कृषकले लगाए सोचे भन्दा बढि आम्दानी हुने दाबी गर्दै उहाँले यसले नेपालको माछाको मागलाई पुरा गर्न सकिने बताउँनुभयो ।

कृषि अनुसन्धान केन्द्र तरहराका अनुसार पंगास र टिलापिया जातका दुवै माछा एक हेक्टर पोखरीमा ५० टनसम्म उत्पादन गर्न सकिन्छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख डा.हरिकृष्ण श्रेष्ठले पुर्वमा धेरै प्रजातिका माछा पाल्ने गरिएकोमा कृषकलाई नयाँ जातका माछा पाल्न सल्लाह दिँदै आएको बताउँनुभयो । श्रेष्ठले कृषकले माछा पाल्दा नयाँ प्रजाति र प्रविधिलाई भित्र्याउन आवश्यक रहेको बताउँनुभयो ।

अहिले नेपालमा नीजि क्षेत्रले अत्यन्तै कम मात्रामा भुरा उत्पादन गर्ने भएकाले पनि केन्द्रमा भुराको माग अत्याधिक बढि रहेको छ । सबै कृषकको पुहँचमा  नयँ प्रविधि र प्रजातीको बारे सुचना पुग्न नसक्नु अर्को समस्याको रुपमा रहेको बताइएको छ । अहिले माछाको करिव ५५ प्रतिशत माग भारतीय माछाले पूरा गरिरहेको छ भने नेपालको उत्पादन ४५ प्रतिशत मात्र छ । त्यसमाथि भारतबाट आउने माछामा फर्मालिन जस्तो मानवस्वास्थ्यका लागि घातक केमिकल प्रयोग गरिने हुँदा नेपाली उत्पादनको माछाको माग बजारमा बढ्दै गएको छ ।

 

LIVE TV