१ जेष्ठ २०७३, शनिबार

SAMITI

संसदीय सुनुवाई विशेष समितिको सदस्य संख्यामा सहमति जुटाउन बसेको दलहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पहिलेकै अनुसार समिति ७५ सदस्यीय बनाउनुपर्ने अडान नछोडेपछि प्रधानमन्त्री निवास बालुवाटरमा बसेको दलहरुको बैठक विना निष्कर्ष टुंगिएको हो ।

काँग्रेसले नयाँ संविधानले संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुने व्यवस्था गरे पनि त्यो व्यवस्था प्रदेश र संघको निर्वाचनपछि मात्र लागू हुने भन्दै सबै दलको प्रतिनिधित्वका लागि समिति ७५ सदस्यीय नै बनाउनुपर्ने अडान कायम राखेको छ । तर सत्तारुढ नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरुले भने संविधानले नै समितिको संख्या किटान गरेको अवस्थामा ७५ सदस्यीय समिति गठन गर्नु संविधानको प्रावधान विपरित हुने धारणा राखेका छन् । दुई पक्षको फरक अडानका कारणसहमति हुन नसकेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता सहभागी थिए । सहमतिको प्रयासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पुनः बैठक बोलाउने तय भएको छ । संसदीय सुनुवाइ विशेष समिति गठनको व्यवस्थासहितको नियमावलीको मस्यौदा व्यवस्थापिका संसदमा पेश भइसकेको छ । संसद्ले मस्यौदामाथि संशोधन दर्ताका लागि जेठ ३ गतेसम्मको समय दिएको छ ।

 

 

LIVE TV