१ जेष्ठ २०७३, शनिबार

CHINA ARMY

चीनले भारतसंगको सीमा क्षेत्रमा ठूलो मात्रामा सैन्य शक्तिको उपस्थिति गराएको अमेरिकाको आरोप छ । चीनिया सैन्य शक्तिको बढ्दो अवस्थाले दक्षिण एसियाली क्षेत्रमा तनाव बढाउन सक्ने पनि अमेरिकाले बताएको छ ।

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले  सन् २०१६ को सुरक्षा प्रतिवेदन अमेरिकी कंग्रेसलाई प्रस्तुत गर्दै चीनले भारतसंगको सीमा क्षेत्रमा वर्षेनी भारी मात्रामा सैन्य शक्ति बढाउँदै गएको उल्लेख गरेको छ । चीनले पाकिस्तानको सीमा क्षेत्रमा पनि पहिले भन्दा बढी मात्रामा सैन्य शक्ति खडा गरेको आरोप लगाउँदै पेन्टागन प्रतिवेदनले चीनसंग पाकिस्तान आवश्यक भन्दा बढी उदार बनेको पनि उल्लेख गरेको सञ्चार माध्यामहरुले जनाएका छन् ।

अमेरिकी कंग्रेसमा सेना र सुरक्षा विकासमा चीन नाम दिईएको प्रतिवेदन प्रस्ततु गर्दै अमेरिकी रक्षा उपमन्त्री अब्राहम एम डेनर्माकले चीनको बढ्दो प्रभावले दक्षिण एसिया क्षेत्रमा तनाव बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन् । कंग्रेसमा धारणा राख्दै डेनर्माकले चीनले तिव्वत मामिलाको विषयलाई लिएर छिमेकी मुलुकहरुसंग सामरिक सम्वन्ध र उपस्थिती बढाउँदै लगेको बताएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

चीनको बढ्दो उपस्थितीवारे चिन्तित भएपनि भारतले उचित प्रतिक्रिया र तयारी गर्न नसकेको अमेरिकाको आरोप छ । अमेरिकी रक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनवारे चीनले औपचारिकरुपमा अझै कुनै प्रतिक्रिया दिएको छैन् । तर पेन्टागनका गत वर्षहरुमा पनि उस्तै प्रकृतिका प्रतिवदेनहरु आउने गरेकोले चीनले आपत्ति नै जनाउने स्पष्ट रहेको सञ्चार माध्यामहरुले उल्लेख गरेको छ ।

चीनको बढ्दो आर्थिक एवं सामरिक शक्तिलाई अमेरिकाले आफ्नो ठूलो चुनौतीको रुपमा हेरेको छ । तर अमेरिकाजस्तो हस्तक्षेपकारी नदेखिएको कारण चीनप्रति धेरै मुलुकहरुको आकर्षण बढेको विश्लेषकहरुले बताएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

 

 

LIVE TV