१ जेष्ठ २०७३, शनिबार

काठमाडौँ, रामेछाप ल्याङ्ल्याङका १६ वर्षीय रोहितकुमार श्रेष्ठलाई ह्विलचियर गुडाउने ठाउँ नहुँदा विद्यालयमा समेत पढ्नै मुस्किल छ ।

प्रवेशिका परीक्षा दिएर बसेका बेला समेत उनले राम्ररी लेख्न पनि पाएनन् । “हाम्रा लागि त बस्ने बेन्चलाई नै घोप्टाएर पो लेख्ने ठाउँ बनाइएको रहेछ । लेख्ने बेलामा साह्रै सकस भयो । तीन घन्टाको समय पनि राम्ररी जाँच दिनलाई पुगेन ।”

तीन वर्षअघि ट्र्याक्टर दुर्घटनामा परेपछि उनको दुवै खुट्टाले काम गर्न छाड्यो । रामेछापमा दुर्घटनालगत्तै उनको उपचार नभएपछि काठमाडौँ ल्याइएको थियो तर यहाँ पनि उनको उपचार हुन सकेन । उनलाई ‘स्पाइनल कर्ड इञ्जुरी अर्थात् मेरुदण्ड पक्षघात’ भएको थियो, जसको कारण खुट्टा सग्लै देखिए पनि त्यसले काम गर्दैन ।

उनको एक वर्ष त उपचारमा नै बित्यो । त्यसपछि उनले विद्यालय जाने मन गरे पनि खुट्टाले साथ नदिएपछि उनको त्यो चाहना पनि पूरा हुन सकेन । काठमाडौँस्थित खगेन्द्र नवजीवन विशेष विद्यालयमा उनले पढ्ने अवसर पाए । एक जना मनकारी दाताका सहयोगमा उनको बस्ने खाने र पढ्ने व्यवस्था भयो । यसै वर्ष उनले प्रवेशिका परीक्षा पनि दिए ।“गाउँमै बसेको भए सायद मैले पढ्ने मौका पाउने थिइन होला । काठमाडौँमा आउने अवसर गायत्री दाहाल दिदीले मिलाएपछि मैले यतिसम्म पनि पढ्न पाएँ”–उनले भने ।

प्रवेशिकापछिको उच्च शिक्षा कसरी लिने भन्ने चिन्ता पनि उनलाई थपिएको छ । व्यवस्थापन विषय लिएर पढ्ने उनको इच्छा छ तर ह्विलचियर मैत्री संरचना नहुँदा कसरी क्याम्पस पढ्ने भन्ने पिरलोले उनलाई अहिलेदेखि नै गाँज्न थालिसकेको छ ।
नुवाकोट फिकुरीका १९ वर्षीय विराज भट्टले गत वर्ष वैशाख १२ गतेको भूकम्पमा परी खुट्टाले काम दिन छाडेपछि ह्विलचियरकै भर परेका छन् । यसै वर्ष उनी पनि प्रवेशिका परीक्षा दिएर बसेका हुन् । गाउँमा पढ्न उनलाई पनि भौगोलिक अवस्थाले साथ दिएन । ह्विल चियर जहाँतहीँ गुडाउन नमिल्ने भएकाले उनी पनि काठमाडौँतिरै बसाइँ सरे । दुई महिनादेखि जोरपाटीस्थित खगेन्द्र विशेष आवासीय विद्यालयमा बसेर उनी आफ्नो उच्चशिक्षाको तयारीमा लागेका छन् तर ह्विलचियर मैत्री कलेज नहुँदा आफूले चाहेको विषय र क्याम्पसमा भर्ना हुन नपाइने हो कि भन्ने चिन्ताले भने उनलाई सताइसकेको छ ।
“भूकम्पअघि म पनि सामान्य व्यक्ति झैँ हिँडडुल गर्न सक्थेँ, अहिले ह्विलचियरको सहारा लिनुपरेको छ । सुरुमा ह्विल चियर गुडाउन नजान्दा कति पटक लडेँ लडेँ, त्यसको गणना नै छैन”, उनले भने–“केही समय त मानसिक रुपमा समेत विक्षिप्त झैँ बनेको थिएँ । अहिले सम्हालिएको छु । यहाँ आएपछि आफू जस्तै अरु साथीहरुलाई पनि देख्छु, त्यसले ममा आत्मविश्वास पैदा गरेको छ । अरुले झैँ म पनि जीवन सहज रुपमा बिताउन सक्छु ।”
ह्विल चियरमा बसिरहँदा पनि निकै हँसिली जेनिशा कडायतलाई देख्दा लाग्दैन कि उनीभित्र कुनै पीडा छ । कैलालीकी १९ वर्षीया कडायत नेपाली सेना वा प्रहरीमा जागिर गर्ने सपना देख्थिन् । दुई वर्षअघि सडकमा हिँडिरहँदा अचानक रुखले किचेपछि उनलाई मेरुदण्डको पक्षाघात भयो “रूख काटिरहेका रहेछन्, मलाई त थाहै भएन । त्यही बाटो हिँड्दा रुखले किच्यो । उता उपचार भए पनि खुट्टा फेरि हिंँड्ने बनाउन सकिएन ।”
आफ्नो घर छाड्ने चाहना नभए पनि सहज र गुणस्तरीय शिक्षाका लागि उनी पनि खगेन्द्र नवजीवनमा आइपुगिन् । पहिले कक्षा १० मा पढिरहेको भए पनि दुई वर्ष त्यत्तिकै खेर गएकाले अहिले उनी पुनः कक्षा १० मा नै भर्ना भएकी छिन् ।

“यहाँ त पढ्नलाई समस्या छैन”, उनी भन्छिन्–‘विद्यालयस्तरसम्मको पढाइका लागि चिन्ता गर्नुपर्दैन, यही विद्यालयमा नै हुन्छ तर उच्च शिक्षाको पढाइका लागि भने कहाँ पढ्ने भन्ने सोच्नै सकिन्न । अधिकांश क्याम्पस सामान्य व्यक्तिलाई सजिलो हुने गरी बनाइएको छ । हाम्रा लागि त कसले सोच्ने र ?”
नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद सङ्घका अध्यक्ष गायत्री दाहाल सरकारले यस्ता बालबालिका तथा व्यक्तिका लागि छुट्टै विशेष विद्यालय तथा क्याम्पसको निर्माण गर्नुपर्ने बताउँछिन् । आफैँ पनि ह्विल चियर प्रयोगकर्ता दाहालले भनिन्–‘स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिलाई दिसापिसाब समेत चुहिने भएकाले सामान्य बालबालिकासँग बसेर पढ्न पनि गाह्रो हुन्छ ।’

“अपाङ्गताभित्र पनि यो समस्या भएकाको समस्या अझ चर्को छ”, उनले भनिन्–“अपाङ्गताको परिभाषाभित्र सबै प्रकारका अपाङ्गता भएकालाई राखिएको छ, जुन उपयुक्त छैन । अपाङ्गताभित्र पनि विभिन्न समस्या छन् त्यसको पहिचान र सोही अनुरुपको सुविधा हुनुपर्छ ।”
स्पाइनल कर्ड इन्जुरीका कारण अपाङ्ग बन्न पुगेकाहरुको यकिन तथ्याङ्क नभए पनि संस्थामा करिब ३०० जना आबद्ध छन् । भूकम्पपछि यसको सङ्ख्या अझ बढेको अनुमान गरिन्छ । रासस

 

LIVE TV