३० बैशाख २०७३, बिहीबार

दाङ। विभिन्न कारणले शिक्षाबाट वञ्चित यहाँका बालबालिकालाई अनौपचारिक शिक्षा दिन सुरु गरिएको छ ।

balपढाइ छोडी विभिन्न श्रममा लागेका २१९ जना बालबालिकालाई अनौपचारिक कक्षा सञ्चालन गरी शिक्षा दिन सुरु गरेको दलित गैरसरकारी संस्था समन्वय समिति दाङका कार्यक्रम संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आर्थिक, सामाजिक र पारिवारिक कारणले विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विभिन्न स्थानमा १२ वटा कक्षा सञ्चालन गरेको बताउनुभयो । प्रत्येक कक्षामा १९ जनाको दरले पढाउँदै आएको र सो मध्ये २१ जना विद्यालयमा औपचारिक शिक्षा लिन चाहने बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गरिदिएको बताएको छ ।

दाङको तुलसीपुर लगायतका क्षेत्रमा रहेका दलित तथा विपन्न वर्गका बालबालिका आर्थिक, पारिवारिक तथा सामाजिक कारणले पढ्नबाट वञ्चित तथा बीचैमा पढाइ छोड्ने गरेको र उनीहरुलाई पुनः शिक्षा दिन यस्तो कक्षा सञ्चालन गरिएको तुलसीपुर नगरपालिकाले जनाएको छ ।

नगरपालिका र संस्थाको सहकार्यमा उनीहरुलाई शिक्षा दिन सुरु गरिएको कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताउनुभयो । नगरपालिकालाई सन् २०१७ सम्म बालमैत्री नगरपालिका घोषणा गर्न यस्तो अभियान थालेको उहाँको भनाइ छ ।

LIVE TV