३० बैशाख २०७३, बिहीबार

निजी विद्यालयले शिक्षा मन्त्रालयको स्वीकृतिबिना नै शुल्क बढाएको पाइएको छ।

boarding-feeआज शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकले गरेको अनुगमनमा विद्यालयले मन्त्रालयबाट स्वीकृत नै नगराएर शुल्क बढाएको पाइएको हो। मन्त्रालयका प्रवक्ता डा हरि लम्सालको अगुवाइमा बुधबार ललितपुरस्थित रातो बङ्गला र आइडियल मोडल स्कुलको अनुगमन गरिएको थियो।

विद्यालयले मन्त्रालयको स्वीकृतिबिना नै शुल्क बढाएको पाइएको अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी गराउनुभयो। विशिष्ट श्रेणीका स्कुलले दुईतिहाई अभिभावकको भेलाबाट शुल्क पास गराई मन्त्रालयबाट स्वीकृत गराउनु पर्दछ।

“अभिभावकको भेलाबाट स्वीकृत गरेपनि मन्त्रालयबाट भने स्वीकृत गराएको पाइएन”–उहाँले भन्नुभयो, “त्यसरी मन्त्रालयको स्वीकृतिबिना शुल्क बढाउन पाइन्न।”

उहाँकाअनुसार अनुगमनका क्रममा रातो बङ्गलाले कक्षा १ मा २५ हजार र आइडियल मोडेलले रु १५ हजार ४५ मासिक शुल्क लिएको पाइएको छ। आइडियलले १० प्रतिशत शुल्क बढी लिएको पाइएको छ।

अनुगमनका क्रममा रातो बङ्गलामा तोकिएको भन्दा बढी मूल्यका पाठ्यक्रम पाइएको छ।
मन्त्रालयले सोमबारदेखि काठमाडौँ उपत्यकाका निजी विद्यालयको शुल्क, छात्रवृति र पाठ्यक्रमको अनुगमन सुरु गरेको हो।

मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले स्कुलको अनुगमन क्रममा भेटिएका बेथितीबारे प्रतिवेदन तयार पारेर केन्द्रीय अनुगमन समितिलाई बुझाइने बताए।। “हामीले आफ्नो भागमा परेका पाँच विद्यालयको अनुगमन सक्यौँ”–उनले भने, “अनुगमनमा जे भेटियो त्यसको प्रतिवेदन तयार गरेर समितिलाई बुझाउँछौँ।”

शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति रहेको छ। सोमबारदेखि काठमाडौँ र ललितपुरमा अनुगमन सुरु गरेको प्रवक्ता डा लम्सालको समूहले रातो बङ्गला, आइडियल, ग्यालेक्सी पब्लिक, अक्सिडेन्टल र बृहस्पति विद्यासदनको अनुगमन गरेको थियो।

LIVE TV