२९ बैशाख २०७३, बुधबार

 प्रतिकिलो २५ लाख रुपैयाँमा किनबेच गर्न तिब्बतका व्यापारीहरु पनि मनाङमा

yarsaa

यार्सागुम्बा उच्च हिमाली भेगको कोशेली र अमूल्य उपहार हो । बहुमूल्य जडिबुटी मानिएको यार्सागुम्बा संकलन गर्न हरेक बर्ष ठूलो संख्यामा हिमाली क्षेत्रका वासिन्दाहरु हिमालको फेसम्म पुग्छन् । अहिले यस्तै भएको छ मनाङमा पनि । वन्दोवस्तीको सामान बोकेर मनाङवासी हुँइकिएका छन् यार्सागुम्बा खोज्न उच्च हिमाली क्षेत्र तिर ।

हरेक बर्ष मनाङमा ३ देखि ४ सय किलोसम्म संकलन हुदै आएको यार्सागुम्बाबाट झण्डै १ अरब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । आधा जीब र आधा वनस्पतिको रुपमा रहने बहुमल्य जडिवुटी यार्सागुन्बु औषधिको रुपमा प्रयोग हुन्छ । बिदेशी बजारमा राम्रो माग रहेको यार्सागुम्बाको कुनै यथार्थ मुल्य नहुँदा यसको तस्करी भने बढदै गएको छ । सिङ्गो जिल्लामा संकलन भएका यार्सागुन्बाहरु तिब्बतको नाका हुदै निकासी गरिने गरिएको छ ।

मनाङका उच्च हिमाली क्षेत्रहरुमा हरेकबर्ष १ अर्ब बढिको यार्सागुम्बा संकलन हुदै आएपछि जिविस मनाङले केही बर्ष अघिदेखि निकासी कर संकलन गर्दैै आएको मनाङका स्थानीय विकास अधिकारी कृष्णप्रसाद धितालले जानकारी दिनुभयो । अहिले मनाङमा प्रतिकेजी २५ लाखको दरले यार्सागुन्बा किनबेच हुने गरेको छ । यार्सागुम्बा संकलनकर्ताहरुले ठेकेदारलाई कम मुल्यमा बिक्रि गरेपनि ठेकेदारहरुले भने बढि मुल्यमा बेच्ने गरेको पाइएको छ ।

यार्सागुम्बा संकलनको अवधिभर सुरक्षालाई मध्यनजर राख्दै मनाङको ङावल, तिल्चे, थोराङफेदी र नारको मेतामा अस्थायी प्रहरी चौकी राखिने मनाङ प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले यार्सागुन्बु संकलन स्थलमै गएर गस्ती समेत गर्ने भएको छ । बैशाख ९ गतेबाट यार्सागुम्बा संकलनका लागि पूर्जी दिइएको छ । संकलनकर्ताहरुले यार्सागुम्बा संकलन गरि त्यहीँ सुकाएर ठेकेदारलाई बेच्ने गर्दछन् । यार्सागुम्बा खरिदका लागि हिमालका फेदीमा चीनको तिब्बतदेखि ठेकेदारहरु आउने गर्दछन् ।

मनाङमा अघिल्लो बर्षदेखि यार्चागुम्बाको निकासी करबापत व्यापारीले प्रतिकिलो १० हजार रुपैयाँ सरकारी कोषमा दाखिला गर्न शुरु गरेको मनाङ प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिनुभयो । अघिल्ला बर्षहरुमा जिल्ला विकास समितिको आन्तरिक कोषमा जम्मा हुने गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी) मनाङ र जिल्ला विकास समिति मनाङले यार्चागुन्बुको राजस्व उठाउँदै आएका थिए । कुल १३ गाविस रहेको मनाङमा थोंचे र धारापानीबाहेक अन्य ११ गाविसमा यार्चागुन्बु पाइन्छ ।

 

LIVE TV