२९ बैशाख २०७३, बुधबार

Prachanda-CA

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा सात सालदेखि नै म्यादी सरकार चलेको जिकिर गर्नु भएको छ । उहाँले मुलुकको तमाम समस्याको समाधान गर्न राष्ट्रिय एकताको सरकार आवश्यक रहेको बताउदै वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भएको दावी गर्नुभयो ।

नीति तथा कार्यक्रममाथि व्यवस्थापिका–संसद्को बैठक जारी छलफलमाथि आफ्नो धारणा राख्दै अध्यक्ष एवं सांसद दाहालले नेपालमा सात सालदेखि नै म्यादी सरकार चलेको चर्चा गर्नुभयो । उहाँले नेपालको तमाम समस्या समाधान गर्न राष्ट्रिय एकताको सरकारको जरुरी रहेको पनि प्रष्ट पार्नुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचनको विषय आफ्नो पार्टीले उठाउँदै आएको धारण स्पष्ट पार्दै अध्यक्ष दाहालले वर्तमान सरकारलाई कुनै दुबिधा नराखी काम गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले आगामी आर्थिक वर्ष २०७३÷७४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक भएको बताउनुभयो । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सेवा क्षेत्रलाई सुधार गर्ने कुरा जायज भएको भन्दै उहाँले व्यापार विधिकरण गर्ने विषय महत्वपूर्ण र जायज रहेको जिकिर गर्नुभयो । सार्वजनिक, निजी र सहकारी क्षेत्रको भूमिकालाई अगाडि बढाउने विषय, पुनर्निर्माणलाई तीव्र पार्ने जनताको घर तथा आवास निर्माणका लागि सहज एवम् प्रभावकारी संयन्त्र बनाउनु जरुरी रहेको उल्लेख गर्नुयभो ।

उहाँले भूमिसुधारको विषयमा प्रष्ट कार्यक्रम ल्याउनुपर्नेमा भने जोड दिनुभयो । ठूला र महत्वाकांक्षी आयोजना सफल पार्न प्रमुख दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको स्पष्ट पार्दै उहाँले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकारको गठनका लागि आफुहरुले गरेको प्रयासलाई नकारात्मक टिप्प्णी नगर्न ध्यानकर्षण गराउनुभयो ।

अध्यक्ष दाहालले संविधान निर्माण, भूकम्पपछिको राहत वितरणमा प्रमुख दलले प्रस्तुत गरेको राष्ट्रिय एकता संविधान कार्यान्वयन र पुनःनिर्माणमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय निर्वाचन छिटो भन्दा छिटो गर्नुपर्ने विषयमा विमति नरहेको भन्दै अध्यक्ष दाहालले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा मात्रै निर्वाचन गर्नुपर्ने, राजनीतिक सहमति र संवैधानिक जटिलता फुकाएर मात्रै गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

 

LIVE TV