२९ बैशाख २०७३, बुधबार

united

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । खेलमा वेष्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई ३–२ ले हराएको हो ।

हारसंगै म्यानचेस्टर युनाइटेडको अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना कमजोर बनाएको छ । युनाइटेडलाई चौथो स्थानमा रहेर लिग अन्त्य गर्नका लागि वेष्ट ह्यामलाई हराएर बोर्नमाउथसँगको लिगको अन्तिम खेल पनि जित्नु पर्ने थियो ।

डाएफ्रा साकोले १० औं मिनेटमा गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडका लागि एन्थोनी मार्सलले ५१ र ७२ औं मिनेटमा गोल गरी २–१ को अग्रता दिलाए । तर यो अग्रता धेरै सयम टिक्न सकेन । वेष्ट ह्यामका लागि ७६ औं मिनेटमा मिकेल एन्टोनियो र ८० औं मिनेटमा विनस्टन रिडले गोल गर्दै ३–२ को जित दिलाए ।

जितपछि छैटौं स्थानमा उक्लिएको वेष्ट ह्याम पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले मात्रै पछि छ । हार पछि पनि युनाइटेडको चौथो स्थानमा रहने सम्भावना भने कायमै छ । तर त्यसका लागि अहिले चौथो स्थानमा रहेको म्यानचेस्टर सिटी अन्तिम खेलमा हार्नु पर्ने छ भने म्यानचेस्टर युनाइटेड विजयी हुनु पर्नेछ । चौथो स्थानको सिटीको ६५ अंक छ भने म्यानचेस्टर युनाइटेडको ६३ तथा वेष्ट ह्यामको ६२ अंक छ ।

LIVE TV