२९ बैशाख २०७३, बुधबार

शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकको अगुवाइमा निजी विद्यालयको अनुगमन, निजी विद्यालयले मनोमानी शुल्क लिएको खुलासा ।

निजी विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको छ । शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकले गरेको अनुगमनमा विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको हो ।

School
काठमाडौं र ललितपुरका चारवटा विद्यालयको अनुगमन गर्दा शुल्क मनोमानी ढङ्गबाट लिएको पाइएको हो । मन्त्रालयमा प्रवक्ता डा. हरि लम्सालको अगुवाइमा ज्ञानेश्वरस्थित ग्यालेक्स पब्लिक र अनामनगरस्थित अक्सिडेन्टल स्कुल तथा शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालको अगुवाइमा ललितपुरस्थित डिएभी र शुभतारा स्कुलमा अनुगमन गरिएको थियो । अनुगमनमा संलग्न अनेरास्ववियु सचिव आरसी लामिछानेले विद्यालयले सरकारको सीमाभन्दा बाहिर गएर शुल्क लिएको पाइएको जानकारी गराउनुभयो ।
अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार विद्यालयले अभिभावकको भेला नगरी आफूखुसी शुल्क लिने गरेका छन् । मन्त्रालयले सोमबारदेखि काठमाडौं उपत्यकाका निजी विद्यालयको शुल्क, छात्रवृत्ति र पाठ्यक्रमको अनुगमन सुरु गरेको हो । अहिले विद्यालयले लिने शुल्क, छात्रवृत्ति र पाठ्यक्रमको विवरण सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ ।

LIVE TV