२८ बैशाख २०७३, मंगलवार

 

death-body (1)

शंकास्पद मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । नेपालमा पोस्टमार्टम गर्ने फरेन्सिक चिकित्सा शास्त्रको पहिचानसम्म नगरिदा पोस्टमार्टमजस्तो सम्बेदनशील कार्यको उचित व्यबस्थापन हुन नसकेको फरेन्सिक बिशेषज्ञले गुनासो गरेका छन् । बीर अस्पतालमा निकै अव्यवस्थित रहेको पोस्टमार्टम कक्षलाई केही व्यवस्थित बनाउन १७ वर्ष अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा स्थानान्तरण गरिए पनि पोष्टमार्टम कक्षको अवस्थामा कुनै सुधार आएको छैन ।

फरेन्सिक चिकित्सा शास्त्रको उदेश्य नै अदालती कामकारबाहीका लागि शंकास्पद मृत्यु भएकाहरूको शरीर चिरफार गर्ने हो । कसैको हत्या भएको हो या भवितव्य, पत्ता लगाउने जिम्मा फरेन्सिक बिशेषज्ञकै हुने गर्छ । पोस्टमार्टम सर्बप्रथम शवको निरिक्षण गरिन्छ । कहिँ चोट लागेको छ भने चोटको गहिराइ लम्बाइको नाप लिइन्छ । पोस्टमार्टम गर्दा टाउकोको हड्डीलाई झिकेर मस्तिकको जाँच गरिन्छ त्यसपछि मुखदेखि कम्मरसम्म चिरेर भित्रको सबै अंगको जाँच गरिन्छ  र सबै अंगको प्याथोलोजी जाँचको लागि नमुना संकलन गरिन्छ । त्यसैको रिपोर्टबाट मृत्युको कारण पत्ता लगाइन्छ ।

तर नेपालमा पोस्टमार्टमको लागि चाहिने उपकरण,जनशक्ति,प्याथोलोजी ल्याब, शव राख्ने फ्रिज लगायत उचित ब्यबस्थापनमा सरकारले बेवास्ता गरेको छ । देशको कानूनसंग जोडिएको अतिआवश्यक र सम्बेदनशील क्षेत्रलाइ यसरी बेवास्ता गर्नु दुखद भएको नेपालका एक मात्र  फरेन्सिक बिशेषज्ञ डा. हरिहर वस्ती बताउनुहुन्छ ।

पोस्टमार्टम फरेन्सिक चिकित्सा शास्त्रमा बिशेषज्ञता हासिल गरेका व्यक्तिले गर्नुपर्ने हो तर बिडम्बना नेपालमा बिगत लामो समयदेखि एकजना मात्र फरेन्सिक विशेषज्ञ डा हरिहर वस्तीबाट पोष्टमार्टम हुँदै आएको छ । उहाँलाई पनि २०५२ सालमा तत्कालीन स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरले श्रीलंकामा तीन वर्षे अध्ययनको व्यवस्था मिलाइदिनुभएको थियो । डा वस्ती फरेन्सिक चिकित्साशास्त्र पढेर फर्के लगत्तै वीर अस्पतालमा पोस्टमार्टम गर्ने जिम्मेवारी पाउँनुभयो तर त्यतिखेरसम्म शव राख्ने ’रेफ्रिजेरेटर’ थिएन । कतिसम् मभने बेलुकी ल्याएको शवको बिहान सम्म मुसाले नाक कान आँखा खाइदिएको हुन्थ्यो ।

पोस्टमार्टम जस्तो सम्बेदनशील बिषय जसले पीडितलाई न्याय र अपराधिलाई सजाय दिलाउँन महत्वपूर्ण निर्णय लिन मदत गर्छ । यसैको रिपोर्टको आधारमा अदालती कार्यमा सबुत संकलन गर्न मदत गर्छ । तर मुलुकमा अहिले जिल्ला अस्पतालमा एम्बिबिस गरेको चिकित्सकले २–३ महिनाको तालिमको भरमा पोस्टमार्टम गर्नुपरेको स्थिति छ । यसले सहि रिपोर्ट नआउँन सक्छ र अपराधीको सहि पहिचान हुन नसकेर उन्मुक्ति पाउँने स्थिति छ ।

त्यसैले देशको कानुनसंग जोडिएको चिकित्सा शास्त्रको पनि अत्यन्त सम्बेदनशील विधा फरेन्सिक चिकित्सा शास्त्रको बारेमा सरकार गम्भीर हुन आबश्यक छ ।

-रिया भण्डारी

 

LIVE TV