२८ बैशाख २०७३, मंगलवार

APF

सशस्त्र प्रहरी बलले एक सय कर्मचारीहरुलाई सेवावाट वर्खास्त गरेको छ । पदीय दुरुपयोग तथा संगठनको अनुशासन विपरित कार्यहरु गरेको सशस्त्र प्रहरीले एक सय कर्मचारीलाई सेवाबाट हटाएको हो । पछिल्लो चार महिनामा २ सय ६१ जना प्रहरीहरु विभागीय कारबाहीमा परेका छन् । त्यसमध्ये १२ जना उच्च अधिकारी छन् ।

सशस्त्र प्रहरीले अनुसाशनहीन कार्य, जिम्मेवारी निर्वाहमा लापरवाही, कमाण्डरको आदेश अवज्ञा र गैर हाजिरलगायतका विषयमा प्रहरीहरुलाई कारवाही गरेको हो । पछिल्लो चार महिनाको कार्य विवरण सार्वजनिक गर्दै सशस्त्र प्रहरी वलले १२ प्रहरीको घटुवा, २७ जनाको बढुवा रोक्का समेत गरेको छ । यस अवधिमा २ सय ३२ जना प्रहरी जवानहरुले नसिहत पाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनालले संगठनमा गुटवन्दी नरहेको र नेतृत्वले पारदर्शी तथा सवन्वयात्मक रुपमा अघि बढ्ने नीति अख्तियार गरेको प्रष्ट पार्नुभयो ।

सञ्चारकर्मीहरुको संगठनमा मौलाएको टकराव, पूर्व आइजीपिहरुको भ्रष्टचारमा संलग्नता र सुरक्षाका अन्य निकायहरुसँगको व्यवहारवारेको प्रश्नमा प्रवक्ता खनालले सम्वन्धहरु सुध्रिदै गएको बताउनुभयो । उहाँले सम्मानित अदालत र सरकारको निर्णयको सम्मान र कार्यन्वयन गर्न वल क्रियाशील रहेको जानकारी दिदै अनुसाशन विपरित कार्य गर्नेलाई कडा कारवाही गरिने बताउनुभयो ।

सशस्त्र प्रहरी वलले सरकारको निर्णय अनुसार नेपाली सेना र नेपाल प्रहरीको दोहोरो भूमिका निर्वाह गर्नु पर्ने भएकोले सशस्त्र प्रहरी ऐनको कार्यदेश अनुरुप नै अघि बढिरहेको बताएको छ ।  सीमा सुरक्षा देखि दंगा नियन्त्रण सम्मको कारवाहीमा सशस्त्र प्रहरी सक्रिय छ  ।

 

 

LIVE TV