२८ बैशाख २०७३, मंगलवार

बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले मादक पदार्थ सेवनबापत कारबाहीबाट उठेको पैसा जिल्लाको एक प्रसिद्घ मन्दिर पुनःनिर्माणका लागि दिएको छ ।

मापसे कारबाहीप्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मापसे कारबाहीबाट उठेको रु २१ हजार ५०० दशरथचन्द नगरपालिका–१ गढीस्थित प्रसिद्घ जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “एक महिनाको अवधिमा मापसे कारबाहीमा उक्त रकम उठेको हो ।” २०७२ चैत १० गतेदेखि २०७३ वैशाख २१ गतेसम्मको अवधिमा २२ जना मापसे कारबाहीमा परेकोसमेत प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बैतडीले करिब रु ५० हजार बराबर पर्ने १५ घनमिटर ढुङ्गा सहयोग गरेको जगन्नाथ मन्दिरका पुजारी कृष्णदेव लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “प्रहरीले मन्दिर पुनःनिर्माणका लागि बेलाबेलामा सहयोग गर्दै आएका छन् ।”
पछिल्लो समय बैतडी प्रहरी सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ ।

LIVE TV