२७ बैशाख २०७३, सोमबार

बागलुङ । बागलुङमा हालसम्म विगतको सशस्त्र द्वन्द्वसँग सम्बन्धित ३१ वटा उजुरी परेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगन्याय पाउने आशामा द्वन्द्वपीडितले स्थानीय शान्ति समितिमा उजुरी दर्ता गरेका हुन् । जसमा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित २५ र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित छवटा रहेका छन् ।

सत्यतथ्य छानबिन र पीडितलाई न्याय दिलाउन आयोगले स्थानीय शान्ति समितिका सचिवमार्फत् उजुरी लिन सुरु गरेका हुन् ।

हालसम्म दुवै आयोगमा गरी कुल ३१ वटा उजुरी परेको स्थानीय शान्ति समिति बागलुङका सचिव लक्ष्मीकुमारी शर्माले बताउनुभयो । बेपत्ता आयोगमा उजुरी गर्ने अन्तिम म्याद जेठ मसान्तसम्म र सत्य निरुपण तथा मेलमिलाप आयोगमा असार २ गतेसम्म तोकिएको छ ।

उजुरी लिन सुरु भएको करिब महिना दिनमा आएका उजुरी अपेक्षा गरिएभन्दा कम रहेको स्थानीय शान्ति समितिले जनाएको छ । जिल्लामा द्वन्द्वबाट प्रभावित व्यक्ति र परिवारको सङ्ख्या ठूलो रहे पनि उजुरी न्यून सङ्ख्यामा परेको सचिव शर्माले बताउनुभयो । दुर्गम भेगमा रहेका द्वन्द्वपीडित कहाँ जानकारी नपुगेकाले उजुरी कम परेको उहाँको भनाइ छ ।

स्थानीय शान्ति समितिले सूचना सम्प्रेषणमा अधिकतम प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेको छैन । “आयोगले सूचना प्रवाह र प्रचारका लागि कुने स्रोत उपलब्ध गराएको छैन”, सचिव गौतमले भन्नुभयो–“हामी सक्नेजति प्रयास गरिरहेका छौँ ।” आयोगले अन्तिम म्यादसम्म अधिकांश द्वन्द्वपीडितको उजुरी पर्ने विश्वास लिएको छ ।

स्थानीय शान्ति समितिमा आएका उजुरीलाई हुलाकमार्फत सम्बन्धित आयोगमा पठाउने गरिएको छ । समितिमा आउने उजुरीलाई गोपनीय रुपमा माथि पठाउने गरिएको छ ।

LIVE TV