२६ बैशाख २०७३, आईतवार

manang

मनाङमा हिमाली आयोजना लागू भएपछि स्थानीय कृषकलाई अनुदानको कुनै खाँचो छैन् । जिल्लामा बसेर पशुपालन तथा कृषिमा रुची राख्ने किसानलाई उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार कार्यक्रम (हिमाली) आयोजनाले अनुदान उपलब्ध गराउँदै आएको हो । जिल्लालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउनको लागि हिमाली आयोजनाले साँढे ५ करोड रुपैयाँ अनुदान वितरण गरेको छ ।

५ करोड ७९ लाख २१ हजार २ सय २१ अनुदान प्राप्त भएकोमा मनाङमा काम गर्दै आइरहेको हिमाली आयोजनाले कुल २१ वटा व्यवसायका लागि ५ करोड ३७ लाख ६८ हजार ३ सय २७ रुपैयाँ अनुदान दिइसकेको आयोजनाको मनाङस्थित जिल्ला व्यवसाय विज्ञ चेतबहादुर थापाले बताउनुभयो । एसियाली विकास बैंक (एडिबी) को अनुदान सहयोगमा हिमालीले उपआयोजना सञ्चालन गरेको हो । मनाङको १३ गाविसमध्ये ८ गाविसका कृषकलाई अनुदान दिइएको उहाँको भनाई छ ।

मनाङमा बालीजन्य ३, माछा १ पशुपालनका १६, र कृषि पर्यटनको एउटा उपआयोजना सञ्चालित रहेको छ । यस्तै गरी पर्यटनजन्यमा १, जडिबुटीजन्यमा ४, पशुजन्यमा ४५ र कृषिजन्यमा ५२ प्रतिशत लगानी रहेको हिमाली आयोजनाले जनाएको छ । नियमित रुपमा उत्पादन दिदैं आएका उपआयोजनाबाट मनाङका कृषकहरुले ८९ लाख ९ हजार ७ सय १५ रुपैयाँ आम्दानी गरिसकेको हिमाली आयोजनाको तथ्याङ्कमा छ । हिमाली आयोजना मनाङका ब्यवसाय विज्ञ थापाका अनुसार पशुजन्यमा २७ लाख ३५ हजार १५  र कृषिजन्यमा ६१ लाख ७४ हजार ७ सय रुपैयाँ आम्दानी भइसकेको छ ।

यस्तै पिसाङको भ्राताङस्थित एग्रो मनाङ प्रालिले उन्नत जातको स्याउ खेतीबाट ५८ लाख ९० हजार रुपैयाँ आम्दानी गरिसकेको छ । मनाङमा हिमाली आयोजनाले सक्रिय रुपमा काम गरेपछि मनाङका बासिन्दाहरु आफुलाई आवश्यक हरिया तरकारीहरु उत्पदान गर्न थालेका छन् भने केही कृषकहरु ब्यवसायिक पशुपालनतर्फ लागिपरेका छन् ।

 

 

 

LIVE TV