२६ बैशाख २०७३, आईतवार

Nepal-Army

बागलुङ, ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ सेना खटिएको छ ।

चोरी, सिकार, अतिक्रमणजस्ता अवैध कार्य रोक्न सरकारले सेना राखेको हो । नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयमार्फत हनुमानध्वज गुल्म आरक्ष क्षेत्रमा खटिएको छ । मन्त्रिपरिषद्ले सेना राख्ने निर्णय गरेको दुई वर्षपछि आरक्षमा सेना परिचालित भएको हो ।

भौतिक पूर्वाधार, बजेट र जनशक्ति व्यवस्थापन समयमै नहुँदा सेना आउन ढिलो भएको बताइएको छ । सेनानी सुमनकुमार पण्डितको नेतृत्वमा दुई सय जनाको फौज आरक्ष क्षेत्रमा परिचालित हुनेछ । बन्दोबस्तीसहित ८० जना आरक्षमा तैनाथ भइसकेको र बाँकी अर्को सातासम्म आइपुग्ने सह–सेनानी असिम श्रेष्ठले जानकारी दिनुभयो । “तत्कालका लागि आरक्ष कार्यालयकै भवनमा बसिरहेका छौँ, स्थायी हिसाबले व्यवस्थापन हुन बाँकी छ” सह–सेनानी श्रेष्ठले भन्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले वन मन्त्रालयमार्फत तीन वर्षअघि नै आरक्षमा सेना खटाउन माग गरेको थियो । सेनाको उपस्थितिले आरक्षमा बढ्दै गएका अवैध गतिविधि रोकिने आरक्ष कार्यालयले जनाएको छ । आरक्षको सुरक्षा र संरक्षणमा सेना राखेर सरकारले उपयुक्त कदम चालेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुयो । “आरक्षको सुरक्षा व्यवस्था ज्यादै कमजोर अवस्थामा छ, चोरी–सिकार, जग्गा अतिक्रमणजस्ता अवैध कार्य भइरहेका छन्”, उहाँले भन्नुभयो– “अब सेना आएपछि ती सबै नियन्त्रणमा आउनेछन्, आरक्षका कर्मचारीले पनि निर्धक्क भएर काम गर्ने वातावरण बन्नेछ ।”

सेना आएपछि आरक्षका कर्मचारीको मनोबल बढेको छ । एक हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष हातामा यसअघि सुरक्षाको नाममा एउटा प्रहरी चौकी र आरक्षका कर्मचारी मात्र थिए । आरक्षमा नाउर, कस्तुरी, मृग, घोरल, झारल, बँदेल, भालु, डाँफे, मुनाल लगायतका जनावर र पक्षीको लुकिछिपी सिकार हुँदै आएको छ । सिकार ९ब्लक०मा वन्यजन्तुका छाला, सिङ तथा स–साना हतियार फेला पर्ने गरेको आरक्षका कर्मचारी बताउँछन् ।

जिल्लास्थित राजनीतिक दलको संयुक्त बैठकले स्थानीयवासीका मागलाई सम्बोधन गर्दै सेना राख्नुपर्ने निर्णय गरेको छ । सेनाले स्थानीय बासिन्दासँग समन्वय गरेर सुरक्षा प्रबन्धका लागि काम गर्ने जनाएको छ । ढोरपाटन आउनुअघि हनुमानध्वज गुल्म कञ्चनपुरमा कार्यरत थियो । रासस

 

LIVE TV