२५ बैशाख २०७३, शनिबार

kagaj

जङ्गलमा खेर गइरहेको बरुवालाई हातले थिचेर बनाइदै आएको हाते कागज निर्माणमा नयाँ प्रविधिको विकास हुन थालेको छ । नयाँ प्रविधिको विकाससँगै बागलुङका गाउँ गाउँमा घरेलु उपकरणको प्रयोग गर्ने उद्यमीहरु मेसिनको प्रयोग गरेर कागज उत्पादन गर्न थालेका छन् ।

बागलुङका ताराखोला, लेखानी, पाण्डवखानी, रणसिँहकिटेनी, दमेक लगायतका गाविसमा पाइने बरुवा नामको रुखको लोक्ता झिकेर नेपाली कागज निर्माण भइरहेको स्थानीयले बताएका छन् । जङ्गलमा खेर गइरहेको बरुवाको प्रयोगबाट उत्पादन भएको नेपाली हाते कागजको बजार राम्रो भएपछि स्थानीयले परम्परागत उद्योगलाई व्यावसायीक बनाउँन सुरु गरेको जुल्फे सामुदायीक लोक्ता प्रशोधन तथा नेपाली हाते कागज उद्यमी समूह ताराखोलाका अध्यक्ष खिमलाल कँडेलले बताउनुभयो ।

प्रविधिको अभावमा मुंग्रोले थिचेर घोल बनाउदै आएका स्थानीयलाई लोक्ताको घोल बनाउनका लागि मेसिन प्रदान गरेपछि अझ सहज भएको स्थानीयले बताएका छन् । भक्तपुर हस्तकलाबाट तालिम पाएपछि बागलुङको ताराखोलामा मात्र ८० भन्दा बढी घरपरिवारले नेपाली कागज उत्पादन गर्दै आएका छन् ।

तर छुट्टाछुटै कागज बनाउदा बजारीकरण, गुणस्तर समस्या भएपछि समुह निमार्ण गरिएको भएपनि २०–२२ जना मात्रै समुहमा आवद्व भएको र ती मध्ये पनि ६–७ जनाले मात्रै नियमित काम गर्ने गरेको समुहका अध्यक्ष कँडेलले बताउनुभयो ।

परम्परागतरुपमा दैनिक एक सय थान उत्पादन हुने गरिएकोमा बहुसरोकारवाला वन कार्यक्रम लिर्वडले घोल बनाउने मेसीन तथा बागलुङ उद्योग वाणिज्य संघले कागज काट्ने मेसीन सहयोग गरेपछि अहिले दैनिक चार सय पिस उत्पादन हुने गरेको समुहका कोषाध्यक्ष थिरमती घर्तीले बताउनुभयो ।

कागज निर्माणसँगै समुहबाट नै डायरी, फोटो फ्रेम लगायतका सामानहरु निमार्ण गर्न थालीएको छ । समुहले उत्पादन गरेको केही सामाग्रीहरु बागलुङ, पोखरा लगायतका बजारमा पठाउने गरिएको छ भने धेरैजसो उत्पादन भक्तपुर हस्तकला केन्द्रले नै खरीद गर्ने गरेको समुहले जनाएको छ ।

 

 

LIVE TV