२५ बैशाख २०७३, शनिबार

nepse WOWN

गत साताको नेप्से परिसूचक ११ दशमलव ३४ अङ्कले घटेको छ । साताको चार व्यापार दिनमा सोमबार नेप्से परिसूचक बढेपनि त्यसपछिका व्यापारिक दिनहरुमा बजार ओरालो लाग्यो । पछिल्ला केही साता निरन्तर रुपले बढेको नेप्से परिसूचक गत सातामा भने करेक्सन देखा परेको थियो ।

साताको पहिलो व्यापार दिन सोमबार हाल सम्मकै उच्च विन्दु १ हजार ४ सय ७४ दशमलव ४७ मा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन विहीबार घटेर १ हजार ४ सय ६३ दशमलव १३ विन्दुमा पुगेर बन्द भएको छ । सरकार परिवर्तन हुने हल्लाको  प्रभावले पनि परिसूचकका साथै कारोबार रकममा पनि उतार चढाव देखा प¥यो । केही दिन देखि उच्च विन्दुमा पुगेको रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) गत साताको अन्तिम दिन ओभर बट जोन अथवा ९५ दशमलव २७ स्केलमा पुगेको थियो ।

यसले बजारमा शेयरको खरीद चाप उच्च रहेको देखाउँछ । गत साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ४८ अङ्कले घटेर ३ सय १६ दशमलव ९६ अङ्कमा आईपुगेको छ । गत साता १४ हजार ७ सय ६९ कारोबारबाट १ सय ४४ कम्पनीहरुको ६९ लाख ३५ हजार ३ सय ९० कित्ता शेयरहरु खरीदबिक्री भए । जसबाट रू.४ अर्ब ५९ करोड ९५ लाख २५ हजार बराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ३० दशमलव ७३ प्रतिशत बढि हो ।

अघिल्लो साता १ सय ४१ कम्पनीको कारोबार भएको थियो । सो साता कारोबार रकमका आधारमा एभरेष्ट बैङ्क अग्रस्थानमा रहेको छ । यस वाणिज्य बैङ्कले गत साता रू.२४ करोड ७० लाख बराबरको शेयर कारोबार गरेको थियो । अन्तिम दिनयस वाणिज्य बैङ्कको शेयर मूल्य रू. ६४ ले घटेर अन्तिम मूल्य रू.२ हजार ९ सय १५ पुगेको छ । हालै प्रकाशित बैङ्कको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा रू. १ अर्ब २० करोड पुगेको छ । यस त्रैमासमा बैङ्कको नाफा न्यून प्रतिशतले बढेको छ ।

 

LIVE TV