२५ बैशाख २०७३, शनिबार

Kamal-Thapa

काठमाडौँ, उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले वर्तमान सरकारले नै स्थानीय निकाय र संसदीय निर्वाचन गराउने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री थापाले सरकारमाथि कुनै खतरा (थ्रेट) र प्रश्न नरहेको बताउनुभयो ।
“राष्ट्रिय स्वाभिमान कायम राख्न उत्तर या दक्षिणको दबाब सहनुहुन्न भन्ने जनमत बढ्दै गएको छ, यसमा आमसञ्चार माध्यमले पनि सकारात्मक भूमिका खेलेका छन्, संविधान निर्माण, सरकार निर्माण, अघोषित नाकाबन्दी र पछिल्लो राजनीतिक घटना क्रमले पनि यसलाई पुष्टि गरेको छ”–उहाँले भन्नुभयो ।

नेकपा (एमाले) र एकीकृत नेकपा माओवादीका बीचमा भएको पछिल्लो नौ बुँदे सहमतिले संविधान अनुसार नै द्वन्द्वकालीन मुद्दा न्यायपूर्वक समाधान गर्ने सार्वजनिक गरेकाले सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्ने मन्त्री थापाको भनाइ थियो । मानव अधिकारको विश्वव्यापी चासोबाट सरकार पछि हट्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

“मधेशका समस्या समाधान गर्न वार्ताका लागि लिखित पत्राचार गर्नेछु, उच्चस्तरीय राजनीतिक समितिले मुद्दाका विषयमा पहिले सहमति गर्छ, त्यसपछि संविधान संशोधन गरेर समस्याको समाधान गर्छ”–समिति संयोजक समेत रहनुभएका मन्त्री थापाले भन्नुभयो ।

अमेरिका, बेलायत र भारत लगायतका राष्ट्रको हालै भ्रमणका अवसरमा ती मुलुक नेपालको संविधानप्रति सकारात्मक रहेको आफूले पाएको समेत मन्त्री थापाले जानकारी गराउनुभयो । रासस

LIVE TV