
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ह्यान्डसेटको आईएमइआई नम्बर दर्ता गर्न प्रयोगकर्ताका लागि निवदेन जारी गरेको छ। वैशाख १ गतेदेखि लागू हुने गरी सबै आयातीत मोबाइलको आईएमइआई नम्बर अनिवार्य दर्ता गर्ने नियम प्राधिकरणले लागू गरेको हो।

यो पनि हेर्नुहोस्ः
सार्वसाधारणले व्यक्तिगत प्रायोजनका लागि विदेशबाट आयात गर्ने मोबाइल फोनको IMEI/ESN/MEID (Unique Identifier) नम्बर अनिवार्य रुपमा दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
दर्ता गर्न प्राधिकरणले उपलब्ध गराएको निवेदन भरेर उपलब्ध गराइएको इमेल ठेगानामा पठाउने व्यवस्था मिलाइएको प्रवक्ता अर्यालले बताए।
मोबाइल ह्यान्डसेट दर्ता गर्न प्राधिकरणको वेबसाइटमा गएर अन्तरिम निर्देशिकाको एनेक्स २ बमोजिम उपलब्ध भएको निवेदनका साथ मोबाइल प्रयोगकर्ताको नागरिकता वा अन्य कुनै परिचयपत्रको प्रतिलिपी पनि पेश गर्नुपर्नेछ।
‘कुनै व्यापारीले ग्रे मार्केटमा भएको मोबाइल विदेशबाट आयात गरिएको हो भन्न सक्छ,’ अर्यालले भने, ‘हामीले यस्तो समस्या नहोस् भनेर दर्ता प्रक्रिया अनिवार्य गरेका हौँ। यसले ग्रे मार्केटका व्यापारीलाई निरुत्साहित गर्छ र राजश्व चुहावट पनि कम गर्छ।’
प्राधिकरणले वैशाख १ गतेदेखि अनिवार्य रुपमा मोबाइल दर्ता गर्नुपर्ने नियम लागू गरेकोमा हालसम्म करिब दुई लाख मोबाइल फोन दर्ता भइसकेको र दर्ता हुने क्रम जारी रहेको प्रवक्ता अर्यालले बताए।
प्राधिकरणले यस योजनालाई विभिन्न चरणमा विभाजन गरी अघि बढाउने छ। पहिलो चरणमा मोबाइल फोन दर्ता अपरेटर कम्पनीको सिस्टम पूर्णरुपमा अपग्रेड र अपरेटर कम्पनीबाट मोबाइल प्रयोगकर्तालाई सूचना स्वरुप म्यासेज पठाउने प्रक्रिया रहेको प्राधिकरणले जनाएको छ।