२४ बैशाख २०७३, शुक्रबार

पत्रकारहरुको मासिक न्युनतम तलव १९ हजार पाँच सय हुने सरकारको निर्णयको मिडिया सम्वद्ध संस्थाहरुले आपत्ति जनाएका छन् । सरोकारवालाहरुसंग छलफल गरेर मात्र अन्तिम निष्कर्षमा पुग्न उनीहरुले आग्रह गरेका छन् ।

मिडिया सम्वद्ध संस्थाहरु नेपाल मिडिया सोसाईटी, नेपाल ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल र रेडियो ब्रोडकास्र्टस फोरमद्धारा शुक्रवार संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकारको न्युनतम तलवको सम्वन्धमा सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको हो ।

भूकम्प एवं नाकाबन्दी लगायतको कारणवाट अत्यन्त अप्ठ्यारो अवस्थावाट गुज्रिरहेका मिडिया संस्थाहरुसंग छलफल नै नगरी मिडिया संस्थाहरुलाई अप्ठ्यारोमा पार्ने गरी आएको निर्णयले थप संकट उत्पन्न गर्ने उनीहरुको भनाई छ ।

प्रेस स्वतन्त्रता एवं नयाँ संविधानको कार्यान्वयनकोलागि आवश्यक सहयोग गर्न सदा तत्पर रहेको उल्लेख गर्दै मिडिया संस्थाहरुका संगठनहरुले पत्रकारको न्युनतम पारिश्रमिकको सम्वन्धमा भएको पछिल्लो निर्णय पूर्नविचार गर्न आग्रह गरेको छ ।

बिहिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय कायम गर्ने निर्णय गरेको थियो । न्युनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिशका आधारमा सरकारले पत्रकारको न्युनतम तलब निर्धारण गरेको हो ।

मिडिया सञ्चालकहरुको संस्थाले सरकारको निर्णय एकलौटी र सरोकारवाला पक्षहरुसंग छलफल नै नगरी गरिएको कारण आफुहरुसंग छलफल गरेरमात्र निर्णय पुग्न आग्रह गरेका छन् ।

पत्रकारहरुको न्युनतम तलव निकै कम भएको र समयमै तलवपनि नआउने अवस्था सिर्जना भएको भन्दै सरकारमाथि न्युनतम पारिश्रमिक निर्धारण समितिले नयाँ पारिश्रमिक निर्धारण गरी कार्यान्वयन गराउन दबाब दिदै आएको थियो ।

 

LIVE TV