२४ बैशाख २०७३, शुक्रबार

kkk

खाद्यवस्तुमा भएको मिसावटले धेरै रोगहरु निम्तिने तर्फ सचेत हुन सरोकारवालाहरुले आग्रह गरेका छन् । उनीहरुले सरकारी कार्यालयले यस्ता विषयमा अनुगमन तीब्र पारेर सलंग्नलाई कारवाही प्रक्रियामा नउभ्याएसम्म मिसावट कार्य निरुत्साहित गर्न नसकिने समेत प्रष्ट पारेका छन् ।

कैलालीको धनगढीमा आयोजित राष्ट्रिय खाद्य स्वच्छता नीति सार्वजनिक तथा छलफल कार्यक्रमकका सहभागीहरुले अनुगमन कार्य प्रभावकारी नबनेसम्म बजार स्वच्छ बन्न नसक्ने आफ्नो निक्यौल सुनाए । कार्यक्रममा मानव अधिकार क्षेत्रीय कार्यालय धनगढीका प्रमुख मोहनदेव जोशीले अहिलेको संविधानले मानिसलाई बाँच्न पाउनु पर्ने अधिकारको प्रत्याभूति गरेपनि खाद्य अधिकारको सुरक्षा नगरेको आरोप लगाउनुभयो ।

खाद्यवस्तुमा मिसावट र मानव स्वास्थ्यमा असर पार्ने किसिमका तत्वहरुको प्रयोग बढ्दै गएको भन्दै सरकारी नीति प्रभावकारी नभएको जिल्ला सरकारी वकिल कार्यालय कैलालीका जिल्ला न्यायाधीवक्ता लक्ष्मण घिमिरे उपाध्यायको निष्कर्ष छ ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले बजार अनुगमन कमजोर रहेको स्वीकार गर्दै अनुगमलाई तीव्रता दिन सम्वद्ध निकायलाई निर्देशन दिनुभयो ।

खाद्य तथा गुण नियन्त्रण विभागका उप महानिर्देशक मतिना बैद्य जोशीले अखाद्य बस्तुहरुको अनुगमनलाई तीब्र बनाईनु पर्ने बताउनुभयो । उहाँले बिभागका मातहतका कार्यालयहरुसंग श्रोत साधनको कमी भएको बताउँदै कार्यलयमा भएको श्रोत साधनको उपायोग गरी अनुगमनलाई तीब्रता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले बजार अनुगमनमा देखिएको सरकारी संयन्त्रको फितलोपना नै मुख्य कमजोरी रहेको औल्याएका थिए । बजारमा देखिएको विकृति हटाउन सरकारी निकायले नै सजगता देखाउन आवश्यक भएको उनीहरुको निष्कर्ष छ ।

 

LIVE TV