२३ बैशाख २०७३, बिहीबार

catch

लहान२३ वैशाख । कर्तव्य ज्यान मुद्दामा विगत नौ वर्षदेखि फरार दुई जनालाई आज बिहान सिरहा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयलाई योजनाबद्ध तरिकाले हत्या गरी कमला खोलाको बगरमा गाडेर फरार रहेको आरोपमा सिरहाको मल्हनिया गम्हरिया गाविस–८ निवासी ३५ वर्षीय जीतन पासवान र सोही ठाउँका ४० वर्षीय परमेश्वर पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

गत २०६४ पुस ५ गते रातको समयमा मल्हनिया गम्हरिया–८ स्थितमा जितन र परमेश्वर पासवानलगायतका व्यक्तिले स्थानीय ४२ वर्षीय राम उदगार मुखियालाई योजनाबद्ध तरिकाले हत्या गरी कमला खोलाको बगरमा गाडेर फरार रहँदै आएको प्रहरीको भनाइ छ ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको गोप्य सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।

आगलागीबाट रु दुई लाख ५० हजारको क्षति

सिरहाको लहानमा आज बिहान भएको आगलागीबाट तीन वटा घर जलेर नष्ट भएका छन् ।

लहान नगरपालिका–१८ बासाजोडीस्थित रामप्रित सदायको घरबाट सल्केको आगो फैलिएर भएको आगलागीबाट सदायसँगै स्थानीय किसन सदायको तीन वटा घर जलेर नष्ट भएको हो ।

आगलागीबाट रामप्रितको फुसले बनेको घर तथा घरभित्र राखिएको नगद रु ५० हजार, सुनका गहना र अन्य सामान जलेर नष्ट हुँदा रु दुई लाख ५० हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस

 

LIVE TV