२२ बैशाख २०७३, बुधबार

hydro_Karnali

खोला र नदिहरुमा पानीको बहाव घटेपछि भोजपुरका विभिन्न गाँउमा  सञ्चालित लघुजलविद्युत आयोजनाहरुको क्षमतामा गिरावट आएको छ । खडेरीका कारण पानीको स्रोत सुकेपछि लघुजलविद्युतको क्षमता घट्दा उपभोक्ताहरु मर्कामा परेका छन् । नियमित बत्ती नबल्दा उपभोक्ताहरुको दैनिक जीवनमा नै प्रत्यक्ष प्रभाव पारिहेको छ ।

पानीको अभावमा भोजपुरको रानीवासमा सञ्चालन भैरहेको काङ्गवा लघुजलविद्युतबाट नियमित बत्ती उत्पादन हुन नसक्दा रानीवासबासी नियमित उज्यालोबाट बञ्चित भएका छन् । उनीहरुलाई बत्ती नआउदा रातको समय कटाउन मुस्किल पर्दै आएको छ । छिनमै बत्ती आउँने र फेरि छिनमै जाने गरेपछि चार्जमा राखिएका इलेक्ट्रोनिक सामाग्रीहरु समेत बिग्रन थालेको स्थानीयहरु बताउँछन् । बत्ती नआउदा कुटानी, पिसानी लगायत अन्य दैनिकीमा समेत असर पर्न थालेको छ । समयमा बत्ती नआईदिने तर महसुल भने मासिक रुपमै तिर्नुपर्दा उपभोक्ताहरुमा असन्तुष्टी बढेको छ  । यहाँका उपभोक्ताहरुले मासिक विद्युत महसुल न्यूनतम १ सय ५० रुपैया तिर्दै आएका छन् ।

बत्तीको टुङ्गो नहुदा यहाँ रहेका कार्यालयको दैनिक कामकाजमा समस्या हुने गरेको छ । सामान्य फोटोकपि देखि ठुला र महत्वपुर्ण कार्यक्रम सञ्चालनमा बत्तीको समस्याले प्रभावकारी बनाउन नसकिरहेको कार्यालयहरुको भनाई छ ।

५५ किलोवाटको यस काङ्गवा लघुजलविद्युतबाट अहिले अत्यन्त कम मात्रा विद्युत उत्पादन हुने गरेकाले सबै उपभोक्तालाई नियमित र बराबर सेवा दिन नसकिरहेको कर्मचारीहरु बताउछन् ।  उनीहरुले आलोपालो गरेर दुई गाउँका सेवाग्राहीलाई दिन बिराएर बत्ती वितरण गर्दै आएका छन् ।

काङ्गवा लघुजलविद्युतबाट रानीवास गाविसका २, ३ र ४ वडाका सवै घरधुरी र १ र ६ नं. वडाका आंशिक गरि ३ सय ६५ घरधुरीले विद्युतसेवा लिदै आएका छन् । यसैगरी ४ वटा विद्यालय र २ कार्यालयले समेत यहि विद्युतबाट सेवा लिदै आएका छन् ।

 

 

LIVE TV