२२ बैशाख २०७३, बुधबार

dhito-patra-board

काठमाडौँ-  नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निस्कासन तथा बोलकबोल बिक्री गर्दा दिइने सूचनालाई प्रभावकारी बनाउन विशेष निर्देशन दिएको छ।  कतिपय लगानीकर्ताले हकप्रद सेयर निस्कासनको जानकारी नपाईकन निस्कासन बन्द भएको गुनासो गरेपछि बोर्डले सूचनालाई प्रभावकारी बनाउन राष्ट्रिय स्तरका छापा पत्रिका, डिजिटल (अनलाइन) पत्रिका तथा एफएम रेडियोमार्फत समेत सूचना प्रवाह गर्न निर्देशन दिएको हो।

बोर्डको यो कार्यले लगानीकर्ताले हकप्रद सेयर निस्कासन तथा बोलकबोलबाट बिक्री हुने सेयरबारे समयमै सूचना पाउने बोर्डले विश्वास लिएको छ। त्यस्तै बजारलाई स्वच्छ, पारदर्शी र व्यवस्थित बनाउन पनि यसले टेवा पुग्ने बोर्डको अपेक्षा छ।  यसअघि कम्पनीहरुले हकप्रद सेयर निस्कासन गर्दा एउटा पत्रिकामा मात्रै सूचना जारी गरे पुग्थ्यो।

हकप्रद सेयर निस्कासन भएको पहिलो साता कम्तिमा दुई वटा राष्ट्रियस्तरको पत्रिकामा सूचना दिनुपर्ने, दोस्रो साता एउटा आर्थिक राष्ट्रिय दैनिकमा र तेस्रो साता कम्तिमा २ वटा प्रमुख अनलाइन पत्रिकामार्फत सूचना प्रवाह गर्नुपर्ने भएको छ।  चौथो साता दुई वटा एफएम रेडियोमार्फत सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ।  यस्तो सूचनामा हकप्रद सेयर खुला भएको मिति, बन्द हुने मिति, बिक्रि प्रवन्धकको नाम, हकप्रदको अनुपात अनिवार्य समावेश गरेको हुनुपर्नेछ।

कम्पनीको आफ्नो वेबसाइटमा अनिवार्य रुपमा विवरण पत्र, विक्री प्रस्ताव तथा विवरण पुस्तिका राख्नुपर्ने भएको छ। बोर्डलाई पनि ति विवरणको एक प्रति उपलव्ध गराउन निर्देशन दिइएको छ।  यस्तै हकप्रद सेयर बाँकी रही बोलकबोलबाट बिक्री गर्ने सूचनाका सम्वन्धमा बिक्री खुला हुनुभन्दा १५ दिनअगाडि सूचना जारी गर्नुपर्ने भएको छ। यसअघि ७ दिनअगाडि कुनै एक राष्ट्रिय दैनिक पत्रिकामार्फत मात्रै सूचना जारी हुँदै आएको थियो।

बोलकबोलबाट बिक्री हुने सेयरका सम्वन्धमा पनि दुई वटा प्रमुख राष्ट्रिय स्तरका पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने छ। सूचनामा बिक्री गर्न लागेको सेयर संख्या, न्यूनतम मूल्य, कम्पनीको नाम र विस्तृत विवरण प्रकाशित गरिएको पत्रिकाको नाम तथा प्रकाशन भएको मिति समावेश हुनुपर्नेछ।

 

LIVE TV