२२ बैशाख २०७३, बुधबार

WaterTanker_0_01234567890

काठमाडौँ- पानीको मुहान सुक्दै जान थालेपछि काकाकुल बनेको काठमाण्डौमा बोरिङबाट उपलब्ध हुने पानी समेत सुक्दै गएको छ । इनार र बोरिङका पानीहरु सुक्न थालेपछि बजारमा पानीको माग ह्वात्तै बढेको छ । यसरी पानीको माग बढेपछि अहिले बजार मूल्य पनि अस्वभाविक रुपमा बढेको छ ।

मुलुकको राजधानी काठमाण्डौ उपत्यकावासीले यसै त खानेपानीको हाहाकार खेप्दै आएको थियो । हरेक वर्षको हिउँदमा सामान्य अवस्थामा पनि यहाँ पानीको संकट चुलिदै आएको छ । त्यसमाथि बढदो सहरीकरणसँगै बैशाख १२ गतेको भुकम्पका कारण अहिले भएका पानीका मुहानहरु समेत सुक्दै गएको छ । त्यसैले बोरिङद्धारा पानी उपलब्ध गराउदै आएका पानी टयाङकरहरुको माग अहिले ह्वातै बढेको छ ।

तर पानीको स्रोत तथा मुहान नै सुक्नाले पर्याप्त मात्रामा पानी वितरण गर्न नसकिएको बोरिङ व्यवसायीहरुको भनाइ छ । पानीको स्रोत र मुहानको अभावमा बोरिङबाट पानी निकाल्ने प्रबिधिहरु नै धमाधम बन्द हुने अवस्थामा पुगेको रोशनी खानेपानी प्रालिका सञ्चालक श्याम गुनीले बताउँनुभयो ।

काठमाडौं बालाजु माछापोखरीमा रहेको उत्तम खानेपानी प्रालिका व्यवसायी कृष्णप्रसाद अर्यालले पानी सुक्दा नियमित ग्राहकहरु बाहेक पनि सयौं थप ग्राहकहरुको लाइन बढेको बताउँनुभयो । पानी लिन आउने ग्राहक र माग बढे पनि स्रोत घटेकोले आपूर्तिमा भने समस्या रहेको उहाँको भनाइ छ । स्रोतको अभावमा अहिले पानीको मूल्य पनि बढेर प्रति टयाङकर ४ हजार रुपैयाँसम्म पुगेको उहाँले बताउँनुभयो । यसअघि उपभोक्ताहरुले प्रति ट्यांकर १२ सय रुपैयाँ तिर्दै आएका थिए ।

झण्डै दुई दशक वितिसक्दा पनि बहु प्रतिक्षित मेलम्ची खानेपानी राजधानी भित्रन नसक्दा यस्तो विषम परिस्थिति आएको हो । यही वर्षको शुरुवातमै काठमाडौंसम्म मेलम्चीको पानी आइपुग्ने योजना पनि भूकम्पका कारण पुनः स्थगित भएर अन्यौलमा परेको छ ।

 

 

 

LIVE TV