२२ बैशाख २०७३, बुधबार

रत्ननगर (चितवन) । विधान संशोधन प्रस्ताव पेस हुनै नपाई चितवनको रत्ननगरमा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा सम्पन्न भएको छ ।

fnj-photo-1श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै ११ बुँदे ‘चितवन घोषणापत्र’ जारी गरी साधारणसभा गएराति सम्पन्न भएको हो ।

नेपाल प्रेस युनियनले एक महिनाअघि नै प्रस्तावित विधान अध्ययनका लागि दिनुपर्नेमा नदिएकाले साधारणसभामा विधान संशोधन हुन नसक्ने भन्दै हलभित्रै नाराबाजी गरेपछि संशोधन प्रस्ताव पेस गर्नै नपाई साधारणसभा सकिएको हो ।

बन्दसत्रको हलभित्र विधान संशोधन प्रस्ताव पेस हुन नसकेपछि प्रेस चौतारी नेपालले पनि विधान पेस गरेर पारित गर्नुपर्ने माग गर्दै केहीबेर नाराबाजी गरेको थियो । अध्यक्ष मण्डलबाट पछि सर्वसम्मतबाट नै विधान संशोधन हुने प्रतिबद्धता जनाएपछि नाराबाजी रोकिएको थियो ।

अध्यक्ष मण्डलका संयोजक सुरेश आचार्यले महासचिव उजिर मगरको कार्य प्रगति, साङ्गठनिक र भावी कार्ययोजना बारेको प्रतिवेदन, कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक दीपक पाण्डेको लेखा प्रतिवेदन पारित भएको घोषणा गरेपछि विधान संशोधन प्रक्रिया सुरु गर्न लाग्दा प्रेस युनियनले अवरोध सिर्जना गरेको थियो ।

सोही क्रममा बोल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले समिति बनाएर विधान संशोधन अगाडि बढाउनुपर्ने माग गर्नुभएको थियो ।

प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले विधान संशोधन आवश्यक भएको र समयअनुसार परिमार्जन गर्नुपर्ने बताउँदै गर्दा समेत हलमा नाराबाजी भएको थियो ।

यस्तै, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले संशोधनको औचित्य प्रष्ट्याउन अध्यक्ष डा विष्टलाई आग्रह गरेपछि डा विष्टले सम्बोधन गर्दै सहमतिबाटै विधान संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विरोध भएपछि साधारणसभाले विधान परिमार्जनका लागि एक उच्चस्तरीय समिति निर्माण गरेको छ । यसका लागि साधारणसभाको अध्यक्ष मण्डलका संयोजक सुरेश आचार्यले महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा, शिव गाउँले, सुरेश आचार्य, पूर्व महासचिव ओम शर्मा, वर्तमान अध्यक्ष महेन्द्र विष्ट, महासचिव उजिर मगर, पत्रकार निर्मला शर्मा सम्मिलित एक समिति सर्वसम्मत चयन भएको जानकारी दिनुभयो ।

LIVE TV