२१ बैशाख २०७३, मंगलवार

काठमाडौँ, प्रहरीलाई घूस खुवाउन खोज्ने लागुऔषध एम्फेटामाइनको कारोबारी पूर्णबहादुर पाख्रिन तामाङलाई रु ५० लाखसहित प्रहरीले पक्राउ गरेको छ ।

धादिङ सत्यदेवी स्थायी ठेगाना भई हाल काठमाडौँ र नुवाकोटको विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका उनलाई बूढानीलकण्ठ नगरपालिकास्थित नीलोपुलबाट लागुऔषध नियन्त्रण ब्यूरोले वैशाख १७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

आज आयोजित पत्रकारसम्मेलनमा ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले नेपालमा एम्फेटामाइनको मुख्य कारोबारी तामाङ रहेको जानकारी दिनुभयो ।

पक्राउ परेका तामाङ थाइल्यान्डमा बसी अस्ट्रेलिया, फिलिपिन्स, म्यानमारलगायत पूर्वी एसियाली मुलुकमा अवैध लागुऔषध एम्फेटामाइन कारोबार बिस्तार गर्ने धर्मबहादुर तामाङको सहोदर भाइ हुन् ।

गत चैत ३० गते बच्चाको खेलौना, सुटकेसको डन्डी, क्रिमको डब्वामा लुकाई छिपाई राखिएको अवस्थामा नेत्र गुरुङ र चित्र तामाङमार्फत थाइल्यान्डबाट ल्याएको ३०२ ग्राम एम्फेटामाइन ब्यूरोले पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा सो लागुऔषध तामाङले मगाएको खुलेको थियो ।

उनीहरु पक्राउ परेपछि ब्यूरोले आफूलाई पनि पक्राउ गर्न सक्ने भन्दै एक व्यक्तिमार्फत ब्यूरोका प्रहरी अधिकारीसँग कुुरा मिलाउन रु ५० लाख खर्च गर्ने भन्दै सन्देश पठाएका थिए । उनै व्यक्तिका माध्यमबाट प्रहरीले तामाङलाई पक्राउ गर्न सफल भएको हो ।

तामाङको आर्थिक कारोबार र लागुऔषध एम्फेटामाइन मुद्दाको सम्बन्धमा सम्बन्धित देशका लागुऔषध कानुन कार्यान्वयन निकायसँग समेत आवश्यक समन्वय तथा सहकार्य गरी थप अनुसन्धानको भइरहेको ब्यूरोले जनाएको छ । रासस

 

LIVE TV