२१ बैशाख २०७३, मंगलवार

खोटाङ। वैशाख महिनाको टन्टलापुर घाम । जस्ताले छाएको सानो छाप्रो । छाप्रोभित्र ३–४ जोर डेस्कबेन्च अनि अगाडिपट्टि सेतो पाटी ।

आफ्ना छोरी तथा नातिनीसरहका महिलाको हुलमा अघिल्लो पङ्क्तिको डेस्कमा किताब कापी राखेर हातमा पेन्सिल समाएको अवस्थामा भेटिनुभयो सेतै केस फुलेकी ८० वर्षीया वृद्घा मनकुमारी लयालु । ओम नमःशिवाय लेखिएको पहेँलो बर्कीमा भेटिने हँसिलो अनुहारकी लयालु जब किताबमा लेखिएको ३–४ अक्षरले बनेका शब्द रोकिँदै भए पनि भनिसक्नुहुन्छ । तब मख्ख पर्दै दिल खोलेर सगर्व हाँस्नुहुन्छ ।

उहाँ हाँस्दा यस्तो लाग्छ मानौँ चस्मा लगाएको ८० वर्षीया उहाँको आँखाले मोतीका दाना खुट्याउनुभयो । एउटा आँखाको शल्यक्रिया गरेपनि अझै स्पष्ट नै आँखाले देख्ने मनकुमारीले बताउनुभयो ।

अक्षर चिन्न सक्ने र लेख्न सक्नेमा समूहकै सक्षममा आफूलाई ठहर गर्ने लयालु आफूले लेखेको शब्द देखाउन र पढेर सुनाउन लालायित बन्नुहुन्छ । बालापनमा बुबा–आमाले किनिदिएको आफ्नो गरगहना सङ्गिनीलाई देखाउन हत्तारिएझैँ आफूले लेखेका शब्द तथा वाक्यलाई देखाउन उहाँ हतारिनुहुन्छ । लाग्छ, उहाँ शब्द–अक्षरको गहनाले झरिझुत्त हुन चाहनुहुन्छ ।

बालापनमा लागेको पढ्ने प्यास ८० वर्षमा आएर मेटाउँदैहुनुहुन्छ दिक्तेल नगरपालिका–२ की मनकुमारी लयालु । जिल्ला शिक्षा कार्यालयको सहयोगमा बालसेवा सामुदायिक अध्ययन केन्द्रद्वारा सञ्चालित निरन्तर शिक्षाका कक्षामा छ महिनाअघिदेखि अक्षरारम्भ गरेकी उहाँ हाल सामान्य वाक्य पढ्न र लेख्न सक्नुहुन्छ ।

पढेर ठूलै काम गर्ने धोको त होइन उहाँको तर अक्षर चिनेर मोबाइल चलाउन र पत्रपत्रिका पढ्न सक्षम हुने धोको छ । उहाँ मुस्कुराउँदै भन्नुहुन्छ, “यसो मोबाइल चलाउन र पत्रिका पढ्न जान्ने धोको छ ।”

bhojpur

आफूले लेखेको कापीको पाना पल्टाएर उहाँ पढेर सुनाइ पनि हाल्नुहुन्छ । अनि भन्नुहुन्छ, “अहिले छोराछोरी, नातिनातिनीको नाम लेख्न सक्छु, पत्रिका पनि अलिअलि पढ्छु ।”

माइती घर दिक्तेलकै पोखरीमा रहेकी लयालुलाई सानै उमेरमा घरबाट बिहे गरिदिएकाले उहाँको पढ्ने धोको अधुरै रहेको थियो । उसो त बिहे गरेपछि उहाँले आफ्ना श्रीमान् र छोराछोरीलाई पढाउनमा भने जोडै गर्नुभएको थियो ।

“बिहे गरेर ऐंसेलुखर्क लगेपछि छोराछोरी भयो । छोराछोरी भएपछि भोजपुरबाट अम्बिका भन्ने मास्टर घरैमा लगेँ ।” त्यो जमाना सम्झँदै उहाँ थप्नुहुन्छ, “अनि मैले चाँही भात पकाउने, खुवाउने, भाँडा माझ्ने गर्थेँ, त्यसै गर्दै बुढो र छोराछोरीलाई चैँ पढाएँ ।”

मर्ने बेला भएपनि पढ्ने रहर भएकाले गर्दा दिनैजसो कक्षामा आउने र सिक्ने गरेको उहाँ बताउनुहुन्छ ।

तेह्र वर्षकै उमेरमा विवाह गरेकी लयालुका चार भाइ छोरा, चार बहिनी छोरीका १८ जना नातिनातिनी र तीन जना पनातिपनातिनी रहेका छन् । शिक्षा लिनु र दिनु नै सबैभन्दा ठूलो कुरा भएको लयालुको भनाइ छ । लयालु परिवारको पहिलेको घर ऐंसेलुखर्क भएपनि पहिलेदेखि नै उहाँहरुको दिक्तेलमै बसोबास रहेको छ । रासस

LIVE TV