२१ बैशाख २०७३, मंगलवार

यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.२ प्रतिशत हुने संयुक्त राष्ट्र संघको एसिया प्यासिफिक क्षेत्रको आर्थिक सामाजिक (स्क्याप) को सर्वेक्षणले देखाएको छ । गत वर्षको भूकम्प र त्यसपछि देखिएको सीमा अवरोधपछि पनि पुनर्निर्माणका काम केही मात्रामा अघि बढेकाले आशातीत आर्थिक वृद्धि हुने प्रक्षेपण स्क्यापले गरेको हो ।

आर्थिक वृद्धिअर्थ मन्त्रालयले भने २ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि हासिल हुने बताउँदै आएको छ । यसअघि अन्तरराष्ट्रिय मुद्रा कोषले ०.५ प्रतिशत, एसियाली विकास बैंकले १.५ प्रतिशत र विश्व बैंकले १.७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान सार्वजनिक गरेका छन् । तर, नेपालको आफ्नै आधिकारिक आर्थिक वृद्धिको प्रक्षेपण भने मंगलबार सार्वजनिक हुँदैछ ।

स्क्यापको सर्वेक्षणमा सन् २०१५ मा नेपालको आर्थिक वृद्धि सबैभन्दा कम र मूल्यवृद्धि सबैभन्दा बढी रहेको उल्लेख छ । स्क्यापले २०१६ र २०१७ मा पनि नेपालमा आर्थिक वृद्धि कम र मूल्य वृद्धि अधिक रहने स्थिति कायमै रहने उल्लेख गरेको छ । सोमबार सार्वजनिक भएको सर्वेक्षणमा २०१६ मा नेपालको मुद्रास्फीति ९.५ प्रतिशत रहने अनुमान छ ।

यो वर्ष अफगानिस्तानको आर्थिक वृद्धि र मूल्यवृद्धि समान ३/३ प्रतिशत रहनेछ । त्यस्तै बंगलादेशको आर्थिक वृद्धि ६.८ प्रतिशत र मूल्यवृद्धि ६.२ प्रतिशत, भुटानको आर्थिक वृद्धि ६.५ प्रतिशत र मूल्यवृद्धि ५ प्रतिशत, भारतको आर्थिक वृद्धि ७.६ प्रतिशत र मूल्यवृद्धि ५.२ प्रतिशत, माल्दिभ्सको आर्थिक वृद्धि ६ प्रतिशत र मूल्यवृद्धि १.६ प्रतिशत, पाकिस्तानको आर्थिक वृद्धि ४.५ प्रतिशत र मूल्यवृद्धि ४ प्रतिशत तथा श्रीलंकाको आर्थिक वृद्धि ५.४ प्रतिशत र मूल्यवृद्धि ४.५ प्रतिशत हुने सर्वेक्षणमा उल्लेख छ ।

उपभोक्ता मूल्य सूचक घटेर दसककै सबैभन्दा न्यून बिन्दुमा पुगेको प्रतिवेदनले औंल्याएको छ । त्यसैगरी तत्कालीन सुधारहरूका बाबजुद अझै दक्षिण एसिया श्रम बजारका चुनौतीहरु कायम रहेको र वस्तु बजारका कमजोरी पनि उस्तै रहेको प्रतिवेदनमा उल्लेख छ । आजको कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV