२० बैशाख २०७३, सोमबार

राष्ट्रिय महिला लिग फुटबल उपाधिमा नेपाल पुलिस क्लबले ह्याट्रिक गरेको छ । सुपर लिग अन्तर्गत अन्तिम खेलमा सोमबार पुर्वाञ्चललाई २ – १ ले पराजित गर्दै पुलिसले तेस्रो पटक महिला लिगको उपाधि जितेको हो । पुलिसले यसअघिका भएका दुवै संस्करणको उपाधि जितेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिष्पर्धात्मक खेलमा पुलिसलाई जित दिलाउन निरु थापाले दुवै गोल गरिन । पुर्वाञ्चलका लागि हिना रानाले एक गोल फर्काइन । उपाधिसंगै नेपाल पुलिस क्लबले ट्रफीका साथै नगद २ लाख प्राप्त गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब उपविजेता बन्यो । उपविजेता बनेको आर्मीले १ लाख नगदमा चित्त बुझायो । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेले जनही २५ हजार प्राप्त गरे । व्यक्तिगत विधामा उत्कृष्ट डिफेन्डर पुलिसकी खेम कुमारी घले, किपर आर्मीकी लिला लाम्घाडे, मिडफिल्डर एपीएफका अनिता बस्नेत , फरवार्डमा पनि एपीएफकै सावित्री भण्डारी र प्रशिक्षकमा पुलिसका सन्देश श्रेष्ठ उत्कृष्ट चुनिए । राउन्ड रोबिनका आधारमा भएको सुपर लिगमा तिन वटै विभागीय टोलीको समान ६–६ अंक भएपनि नेपाल पुलिस हेड टु हेडका आधारमा च्याम्पियन बनेको हो ।

nepalpoliceclub

सुपर लिगमा पुर्वाञ्चल अंक विहीन बन्यो । सुपर लिगमा पुलिस आर्मीसंग पराजित भएको थियो भने आर्मी एपीएफसंग हारेको थियो । सोमबार भएको सुपर लिगको अन्तिम खेलमा पुर्वाञ्चल विजयी भए वा पुलिसलाई बराबरीमा रोकेको भए एपीएफले लिगको उपाधि हात पार्ने थियो । यता, आइतबार एपीएफसंग २–१ गोल अन्तरले पराजित भएपछि आर्मीको लिग जित्ने सम्भावना सकिएको थियो । राष्ट्रिय लिगमा तिन विभागीय र पाँच क्षेत्रिय टोलिगरि आठ टिमको सहभागिता रहेको थियो ।

LIVE TV