२० बैशाख २०७३, सोमबार

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माण जस्ता महत्वपूर्ण मुद्याहरु सम्वोधन गर्न नसकेको भन्दै नेपाली कांग्रेसभित्र सरकारको विकल्पमा आवाजहरु उठ्न थालेको छ । झनै कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणवाट फर्के लगत्तै यो मुद्याले थप बल पाएको छ । सत्ता नभई नहुने आरोप खेप्दै आएको कांग्रेस आखिर किन सत्ताकोलागि हतारिएको छ त ?

देउवा सभापतिमा निर्वाचित भएलगत्तै कांग्रेसलाई सत्तामा जाने कुनै हतारो नभएको जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका थिए । त्यतिमात्र नभई चाँडै सरकार परिवर्तनले राजनीतिक अस्थिरता बढाएको भन्ने सर्वत्र गुनासो रहेको विषयमा आफु पूर्ण सचेत रहेको देउवाले स्पष्ट पारेका थिए । तर देउवा निर्वाचित भएको तीन महिनापनि नपुग्दै व्यवस्थापिका संसदको ठूलो दल कांग्रेसभित्र सत्ताको आंकाक्षा बढ्न थालेको प्रष्ट देखिएको छ । पार्टी सभापति देउवाले प्रत्यक्ष नभनेपनि उनी निकटका थुप्रै नेताहरुले सरकारप्रति चरम असन्तुष्टि व्यक्त गर्दै सरकारको विकल्प खोज्नु पर्ने आवाज उठाएका छन् । यो स्वर अझ देउवा निकट भनिएका नेताहरुबाटै तीब्र बनेपछि धेरै आशंकालाई मलजल गरेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महत भने सिधै सरकारको विकल्प नभनेपनि ओली सरकार असफल भईसकेको आशय व्यक्त गर्नुहुन्छ ।

ओली सरकार संविधानको कार्यान्वयन, महङ्गी नियन्त्रण, मधेस मुद्याको सम्वोधन, कालोवजारी नियन्त्रण, भूकम्पछिको पुर्ननिर्माणका मुद्यालगायतमा सरकारले प्रभावकारीता प्रदर्शन नगरेको उँहाको आरोप छ । तर कांग्रेस सत्ताको आकांक्षी भएको आरोपको भने उहाँले प्रतिबाद गर्नुभयो । यता राष्ट्रवादी धार र विकासप्रतिको प्रतिवद्यताका कारण ओली सरकारले अहिलेको अवस्थामा केही हदसम्म लोकप्रियता हासिल गरेको छ । यो अवस्थामा कांग्रेसले सत्ताको चाहना प्रकट गर्दा त्यसले गतिलो सन्देश नजाने धारणा राजनीतिक विश्लेषकहरुको छ ।

LIVE TV