२० बैशाख २०७३, सोमबार

काठमाडौंमा कतै सडकको यात्रामा निस्कनुअघि धेरैलाई पिर पर्ने कुरा एउटै हो, कतै ट्राफिक जाममा फसिने हो कि । त्यसो त ट्राफिक प्रहरीले कतिबेला कुन सडकमा सवारी आवगमन रोकिरहेको छ,कुन क्षेत्रमा ट्राफिक जाम भैरहेको छ भन्ने थाहा नपाउँदा निकै सास्ती बेहोर्नुपर्ने हुन्छ । तर अब यी सबै कुराको जानकारी आफ्नै मोबाइलमा हेर्न सकिने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाले सवारी चालक र सर्बसाधारणलाई लक्षित गर्दै ‘ट्राफिक पुलिस नेपाल’ नामको एप्स सार्बजनिक गरेको हो । सोमबार एक समारोहकाबीच प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उक्त एप्स सार्वजनिक गर्नुभएको हो । उहाँले उक्त एप्सको माध्यमबाट सडक ब्यबस्थापनका साथै सडक दुर्घटनालाई न्यूनिकरण गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले अब छिट्टै नेपाल पुलिसकै मुख्य एप्स निर्माण गर्ने तर्फ कार्य भईरहेको समेत जानकारी दिनुभयो । उक्त एप्सबाट ट्राफिक सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने महाशाखाले जनाएको छ । कुनै ठाउँमा ट्राफिक नियम उल्लंघन गर्नु भयो भने त्यसको सजाय कस्तो हुन्छ ? जरिवाना कति लाग्छ ? भन्ने पनि एप्सबाटै जानकारी लिन सकिने छ ।

LIVE TV