२० बैशाख २०७३, सोमबार

नेपाल टेलिभिजनमा भएको बैंक ग्यारेन्टी अनियमितता प्रकरणबारे छानबिन गर्न गठित दोस्रो उपसमितिले समेत महाप्रबन्धक लक्ष्मण हुमागाईंसहित ६ जना कर्मचारीलाई भविष्यमा सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्न सिफारिस गरेको छ ।

नेपाल टेलिभिजनसूचना मन्त्रालयका कानुन उपसचिव अनुप नेपालको संयोजकत्वमा पुष्करराज नेपाल र गणेश घिमिरे सदस्य रहेको छानबिन उपसमितिले टेलिभिजनका आर्थिक प्रशासन महाशाखा प्रमुख राजनकुमार श्रेष्ठ, लेखा अधिकृत पवनकुमार माण्डव्य, वरिष्ठ लेखा अधिकृत कमलप्रसाद रेग्मी, लेखा अधिकृतहरू ऋषिराम भन्तना, दिनेश पौडेललाई पनि बर्खास्तको सिफारिस गरेको हो । अर्का लेखा अधिकृत शरदचन्द्र श्रेष्ठको हकमा भने तलब रोक्का गर्न सिफारिस गरेको छ ।

सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले अघिल्लो पटक गठित छानबिन उपसमितिको प्रतिवेदन कार्यान्वयनबारे अध्ययन गर्न पछिल्लो उपसमिति गठन भएको बताए । ‘पछिल्लो उपसमितिको प्रतिवेदनलाई नेपाल टेलिभिजनको सञ्चालक समितिले निर्णय गरेर महाप्रबन्धकमाथि नै कार्यान्वयन गर्नेछ,’ उनले भने ।

तर दोस्रो उपसमितिले प्रतिवेदन कार्यान्वयनका क्रममा हुमागाईंलाई पनि बर्खास्त गर्न सैद्धान्तिक रूपमा सिफरिस गरेको छ । टेलिभिजनका एक बोर्ड सदस्यका अनुसार, महाप्रबन्धकमाथि समेत कारबाहीको सिफारिस भएकाले उनले नै प्रतिवेदन कार्यान्वयन गर्न अप्ठ्यारो पर्नेछ । तर सचिव थपलियाले महाप्रबन्धकको हकमा बोर्डले कारबाही गर्न नसक्ने भएकाले मन्त्रालयमा नै फाइल आउनुपर्ने बताए । ‘तर अहिलेसम्म आइसकेको छैन, हेर्नुपर्छ,’ उनले भने ।

 

LIVE TV